समाचार

होलीमा कसरी हुँदैछ राजधानीको सुरक्षा व्यवस्थापन ?

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व (होली)लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा कडाइ गर्ने भएको छ ।
उपत्यकाका सडकहरूमा अधिकतम ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार होली पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि यस वर्ष काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ ।

यसका साथै ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाइन्टसमेत राख्ने तयारी गरिएको छ । सुरक्षा योजना अनुसार मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गरिनेछ । यसका लागि करिब एक हजार जना ट्राफिक प्रहरी खटिने एसएसपी श्रेष्ठले बताए । अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाइ गरी ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

विशेषगरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो-हल्ला गर्ने, झै-झगडागर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने एसएसपी श्रेष्ठले बताए ।