विश्व

मस्को आक्रमण अगाडी अमेरिकाले पूर्व सूचना दिएको खुलासा

EPA-EFE/REX/SHUTTERSTOCK

काठमाडौं । मस्कोमा भएको पछिल्लो हमलाको अमेरिकाले पूर्वचेतावनी दिएको पाइएको छ । मार्च ७ मा अमेरिकाले यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबेला ‘उग्रवादीहरूले मस्कोका ठूला भीड भएका ठाउँमा निकट भविष्यमा नै निशाना बनाउने योजना बनाएको’ चर्चा गरिएको थियो र ठ्याक्कै कन्सर्टको पनि उल्लेख गरिएको थियो। उसले सो सहरमा रहेका अमेरिकीहरूलाई त्यसपछिका ४८ घण्टा उक्त सहरमा हुने ठूला भिडभाडमा सहभागी नबन्न सूचना निकालेको थियो।

हमलाको समय नमिलेको हो तर अन्य विवरण मार्च २२ मा भएको आक्रमणसँग लगभग पूर्ण रूपमा मेल खान्छ। वासिङ्टनसँग केही गुप्तचरी सूचना रहेको प्रस्ट देखिन्छ र त्यो मस्को हमलाको जिम्मेवारी लिएको इस्लामिक स्टेट (आईएस) समूहसँग जोडिएको देखिएको छ । आफ्ना नागरिकलाई सार्वजनिक रूपमा चेतावनी दिएको अमेरिकाले रुसी सरकारलाई पनि सोझै उक्त जानकारी दिएको जनाएको छ।

“अमेरिकी सरकारले यो सूचना लामो समयदेखि कायम ‘चेतावनी दिने दायित्व’ सम्बन्धी नीति अन्तर्गत रुसी अधिकारीहरूलाई पनि जानकारी गराएको थियो,” हमलापछि एक जना अमेरिकी अधिकारीले भने। देशहरूबीच गुप्तचरी सूचनाहरू आदानप्रदान हुने माध्यमहरू हुन्छन्। सर्वसाधारणहरूमाथि आक्रमण हुने सम्भावित परिस्थितिमा साझेदार नरहेका देशहरूसँग पनि ती माध्यमबाट सूचना सम्प्रेषित गरिन्छ। मस्कोले ती चेतावनीलाई बेवास्ता गर्‍यो जुन समस्या बन्न पुगेको छ।

हमलाको तीन दिन अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको रक्षा गर्ने जिम्मा पाएको रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) को उच्च नेतृत्वसँग छलफल गरेका थिए। भेला भएका सुरक्षा निकायका नेताहरूलाई पुटिनले आफ्नो मुलुकको उच्च प्राथमिकता विशेष सुरक्षा कारबाहीलाई समर्थन गर्नु भएको बताए। युक्रेनविरुद्धको लडाइँ बुझाउन उक्त पदावलीको प्रयोग गर्ने गरिन्छ।

पुटिनले युक्रेनले ‘आतङ्कवादी दाउपेच’ अवलम्बन गरेको बताए। उनले पश्चिमा जगतबाट रुसभित्र सम्भावित आक्रमण हुने भनी ‘उत्तेजनात्मक टिप्पणी’ गरिएको बताए। ती चेतावनीहरूले ‘सोझै मोलतोल गर्ने र हाम्रो समाजलाई धम्क्याउने अनि अस्थिर बनाउने उद्देश्य’ राखेको पुटिनले बताएका थिए। यसले अमेरिका र रुसबिचको अविश्वासको अर्थ मस्कोले ती चेतावनी सुन्नै चाहँदैन थियो भन्ने सङ्केत दिन्छ। त्यसलाई युक्रेन द्वन्द्वसँग जोडेर आफ्नो मुलुकलाई धम्की दिने प्रयास गरिएको अर्थमा उसले लियो।

अमेरिकासँग ठूलो जासुसी संयन्त्र रहेको छ र उसले आईएसलाई नजिकबाट निगरानी गर्छ। मस्कोमा हमला गरेको समूह अमेरिकी सुरक्षा बल र सर्वसाधारणहरूलाई सन् २०२१ को अगस्टमा काबुलमा भएको आक्रमणमा पनि जोडिएको छ। हालै इराकमा भएका घातक बम हमलामा पनि उसको भूमिका छ।