समाचार

मौसम शनिबार सम्म नै प्रतिकुल

काठमाडौं । मौसम शनिबार सम्मप्रतिकुल रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी नेपालका धेरैजसो भागमा पानी पर्नेछ । पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षासमेत भइरहेको छ ।

गतराति पनि काठमाडौं उपत्यकासहित गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भएको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लमजुङको कुन्छा भन्ने ठाउँमा भएको छ । त्यहाँ ६१ मिलिमिटर वर्षा पन भएको हो । यसैगरी चितवनको त्रिशूलीमा ५३।६ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५२ मिलिमिटर वर्षा मापन भएको छ ।
चैतको महिनामा सामान्यतया बिहानैदेखि दिउँसोसम्म चर्को घाम लाग्ने, साँझपख हावाहुरी चल्ने र चट्याङसहित असिना पानी पर्ने गर्छ । तर अहिले माघे झरीजस्तो मौसम देखिएको छ ।


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि शनिबारसम्म बदली र वर्षाको प्रक्षेपण छ । बुलेटिनमा लेखिएअनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि परामर्श दिंदै महाशाखाले भनेको छ, ‘ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’