समाचार

रुसमा हमला गर्ने चार जनाविरुद्ध आतकंवाद अभियोगमा मुद्दा

काठमाडौं । मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न आरोपमा चार जना संदिग्धलाई आतङ्कवाद अभियोग लगाएको छ । दोषी ठहर भए उनीहरूलाई आजीवन कारावासको सजाय हुनेछ । अहिले उनीहरूलाई मे २२ सम्मका लागि थुनामा राखिएको छ ।

मुद्दाको सुनुवाइको मितिका आधारमा म्याद थप गर्न सकिने अदालतले जनाएको छ । उनीहरूलाई आइतबार हिरासतमा लिइएको थियो । अदालतले दुई जना प्रतिवादीले आफ्नो अपराध स्वीकारेको र तीमध्ये एक जना ताजिकिस्तानका नागरिक रहेको र उनले आफ्नो अपराध पूर्णरुपमा स्वीकारेको जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘बर्बर आतङ्कवादी हमला’मा संलग्नलाई दण्डित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार युक्रेनतर्फ भाग्ने क्रममा चारै जना बन्दुकधारीलाई पक्राउ गरिएको रुसी अधिकारीले बताएका थिए । किएभले उक्त आक्रमणमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको दाबी गर्दै आएको छ । पुटिनले इस्लामिक स्टेट (आइएस)समूहको जिम्मेवारीबारे सार्वजनिकरुपमा कुनै भनाई राखेका छैनन् ।


मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा शुक्रबार साँझ बन्दुकधारीले आक्रमण गरी भवनमा आगजनी गर्दा तीन बालबालिकासहित कम्तीमा १३७ जनाको मृत्यु भएको थियो । आइएसले युरोपमा गरेको यो सबैभन्दा घातक आक्रमण हो । रुसी अनुसन्धान समितिले मस्कोस्थित आफ्नो मुख्यालयमा चार संदिग्धलाई घिसार्दै लगेको भिडियो सार्वजनिक गरेको छ । आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्य सात जनाको बारेमा भने केही बताइएको छैन ।

अधिकारीहरूले बन्दुकधारीहरू सबै विदेशी नागरिक भएको बताएका छन् । इस्लामिक स्टेट समूहले शनिबार टेलिग्राममा पोस्ट गरेको एक पोस्टमा ‘चार जना आइएस लडाकुले मेसिनगन, पेस्तोल, चक्कु र फायरबमसहित आक्रमण गरेका’ देख्न सकिन्छ । एसआईटीई गुप्तचर समूहका अनुसार बन्दुकधारीले खिचेको करिब डेढ मिनेट लामो भिडियो विभिन्न सामाजिक सञ्जालका अकाउन्टमा पनि पोस्ट गरिएको छ । रासस-एएफपी