विश्व

गाजामा भोकमरी, युद्ध अपराध ठहरिने

REUTERS

काठमाडौं । महिनौँको चेतावनीपछि संयुक्त राष्ट्रसङ्घले सघाएको पछिल्लो एक प्रतिवेदनले तथ्याङ्कसहितको बलिया प्रमाण पेस गर्दै गाजाको मानवीय विपद् मानव सिर्जित अनिकाल बनेको जनाएको छ। राष्ट्रसङ्घका शीर्ष मानवअधिकार अधिकारीले बीबीसीका जेरमी बोअनसँगको एक अन्तर्वार्तामा त्यसको उल्लेख्य दोष इजरेलको रहेको र उसले गाजामा भोकमरीलाई युद्ध अस्त्रको रूपमा प्रयोग गरेको भरपर्दो आधार रहेको बताएका छन् । राष्ट्रसङ्घीय मानवअधिकार निकायका उच्चायुक्त फोल्कर ट्यूर्कले यदि उनीहरूको मनसाय पुष्टि भएमा त्यो युद्ध अपराध हुने बताए।


इजरेलका अर्थमन्त्री तथा प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको दलका एकजना वरिष्ठ नेता निर बर्कटले ट्यूर्कको चेतावनीलाई पूरै बेतुकको – एउटा पूरै गैरजिम्मेवार अभिव्यक्ति भनेका छन्। इजरेली मन्त्रीमण्डलका अन्यलेझैँ बर्कटले समेत इजरेलले अमेरिका र अन्यत्रबाट आएका सहायता गाजा लैजान दिइएको दाबी गरेका छन्। इजरेलले राष्ट्रसङ्घ सहायता वितरण गर्न विफल भएको र यसअघि बचेखुचेको सामग्री समेत हमासले प्रयोग गरेको बताउने गर्छ।

तर सहायता सामग्री भरिएको लरीहरूको लामो ताँती गाजाको इजिप्टतर्फको सीमानाका रफाहमा रोकिराखेको छ। ती इजरेलमार्फत मात्रै लम्बे प्रक्रिया र जाँच पासपछि गाजा प्रवेश गर्न पाउँछन्। गाजामा अत्यावश्यक सामग्रीको अभावले जोर्डन, अमेरिका र यूके सहितका देशलाई सहायता आकाशबाट छाड्ने उपाय रोज्न बाध्य पारेको छ।

मानवीय सहायताका लागि त्यो सबैभन्दा कम प्रभावकारी तरिका मानिन्छ। तर राष्ट्रसङ्घीय उच्च अधिकारीको यस अभिव्यक्तिले इजरेललाई प्यालेस्टिनी नागरिकहरूको संरक्षण गर्न कानुनी जिम्मेवारीहरू पालना गर्न र मानिसहरूसम्म मानवीय सहायता पुर्‍याउन दबाब बढाएको छ।

इजरेली सेनाको लडाइँ यतिखेर गाजाका तीन अस्पताल वरपर केन्द्रित बनेको छ। इजरेलले गाजा सहरको अल–शिफा अस्पताललाई ११औँ दिनयता कब्जा गरेको जनाउँदै त्यस बीचमा कम्तीमा २०० हमास र इस्लामिक जिहादी लडाकुहरू मारिएको जनाएको छ। तर एक प्यालेस्टिनी नागरिक समूहका प्रवक्ताले भने निर्दोष मानिसहरू मारिएको र लडाइँबीचमा महिला र बालबालिकाहरू फसेको जनाएका छन्।

अस्पतालबाट बाहिर निकालिएका केही प्यालेस्टिनी चिकित्सकहरूले बिरामीहरूलाई तत्काल अन्यत्र सारिनुपर्ने बताएका छन्। दक्षिणतर्फको खान यूनिसमा इजरेली ट्याङ्क र स्थल फौजले पुनस् अल-अमल र अल-नासेर अस्पताल घेरेका छन्। नासेर अस्पतालमा हजारौँ मानिसहरू रहेकाले उनीहरूको सुरक्षा चिन्ता बढेको छ। बीबीसी संवाददाताले त्यहाँको अवस्था बताउँदै निकै कम अस्पतालले समेत आंशिक रूपमा मात्र काम गर्न सकिरहेको जनाएका छन्।
बीबीसी