समाचार

बाल्टिमोर पुल कोल्याप्स : दुई जनाको शव भेटियो

GETTY IMAGES\BBC

काठमाडौं । बाल्टिमोरमा पानीजहाज ठोकिएपछि भत्किएको पुलबाट खसेर नदीमा डुबेको एउटा ट्रकमा दुई व्यक्तिको शव फेला परेको अमेरिकी अधिकारीहरूले बताएका छन्। पट्याप्स्को नदीमाथि निर्मित २.६ किमि लामो फ्रान्सिस स्कट की ब्रिज भत्किँदा सडक मर्मत गर्न खटिएका आठ मजदुर पानीमा खसेका थिए। तीमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको थियो। हराइरहेका बाँकी चार जना जीवित भेटिने सम्भावना नभएको अधिकारीहरूले बताएका छन्। यद्यपि खोजीकार्य जारी छ। अनुसन्धानकर्ताहरू घटनास्थलमा खटिएका छन्।

पुलको भग्नावशेषले थिचिएको दुर्घटनाग्रस्त पानीजहाजमा भएका घातक सामग्री व्यवस्थापन गर्ने काम पनि भइरहेको छ। दुर्घटनामा परेका छमध्ये चार जनाको पहिचान गरिएको छ। मेरिल्यान्ड राज्यको प्रहरीले ट्रकभित्रबाट ३५ वर्षका एलिहान्ड्रो हर्नान्डेज फ्युन्टिज र २६ वर्षका कास्टिलो क्याब्रिराको शव फेला परेको जानकारी दिएको छ। फ्युन्टिजको मूल थलो मेक्सिको हो भने क्याब्रिरा ग्वाटेमालाबाट अमेरिका पुगेका हुन्।

प्रहरीका अनुसार नदीमा रहेको भग्नावशेष र कङ्क्रिटका कारण गोताखोरहरूले सुरक्षित रूपमा खोजीकार्य अघि बढाउन सकेका छैनन्। खोजीकार्यमा सोनर स्क्यान पनि प्रयोग गरिएको छ। बाँकी शव रहेको ठानिएका सवारीसाधन पुलबाट खसेको कङ्क्रिट र अन्य संरचनाले सम्भवतः थिचिएको एक अधिकारीले बताए। बेपत्ता भएकामध्ये अरू दुई जनाको पनि नाम सार्वजनिक भएको छ। प्रहरीले तीमध्ये एक जना एल साल्भडोर र अर्का होन्डुरसका नागरिक भएको जनाएको छ। दुवै जनाको मृत्यु भएको मानिएको छ।

यसअघि मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना दुई नागरिकले ज्यान गुमाएको हुन सक्ने जनाएको थियो।तीमध्ये एकको पहिचान खुलेको छ भने अर्का व्यक्तिको जीवितै उद्धार गरिएको थियो। अधिकारीहरूका अनुसार नदीबाट उद्धार गरिएका एक जनालाई अस्पतालले बिदा गरेको छ। मङ्गलवार राति झन्डै १ः३० बजेतिर दुर्घटना भएपछि प्रतिकार्यका लागि खटेका उद्धारकर्ताले नदीमा खसेका मानिसहरूको खोज्न थालेका थिए।

अमेरिकी कोस्ट गार्डले सूर्यास्त हुनै लाग्दा खोजीकार्य स्थगित गर्दै पुल भत्किएपछि कठ्याङ्ग्रिने चिसो पानीमा खसेका मानिस लामो समयसम्म जीवित नभएको अनुमान गरेको थियो। अधिकारीहरूले शव खोज्न प्रयास भइरहेको जनाएका छन्। “हामीले ती मानिसका परिवारलाई यथार्थ खबर दिनैपर्छ,” मेरिल्यान्डका गभर्नर वेस मोरले भनेका छन्।