समाचार

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न रोक

काठमाडौं्र । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । दक्षिण अफ्रिकामा आगामी मे २९ अर्थात् २०८१ जेठ १६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको अल जजिराले जनाएको छ ।

दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) परित्याग गरेका पूर्व राष्ट्रपति जुमाले हालै नयाँ दल एमखोन्टो विसिज्वे (एमके) पार्टी खोलेका थिए । सन् २०२१ मा अदालतको अवहेलनाको आरोपमा केही समय जेलसजाय भोगेका जुमाले नयाँ दल खोलेर आफ्नो राजनीतिक यात्रा पुनः प्रारम्भ गर्न चाहेका छन् ।

दक्षिण अफ्रिकी निर्वाचन आयोगका अध्यक्ष मोसोथो मोप्याले पूर्व राष्ट्रपति जुमालाई निर्वाचनमा भाग लिन नपाउने गरी निर्णय भएको पुष्टि गरे । उनी विरुद्ध एक उजुरी परेको थियो, जसलाई आयोगले स्वीकार गरेको छ ।

सन् १९९४ मा सत्तामा आएयता एएनसीले पहिलो पटक ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने अनुमान गरिएको छ । अफ्रिकामा राष्ट्रपति निर्वाचित हुन कम्तिमा ५० प्रतिशत मत ल्याउनुपर्दछ । मुलुकको कमजोर आर्थिक अवस्था तथा अत्यधिक भ्रष्टाचारको आरोप खेपिरहेको एएनसीलाई जनमत हासिल गर्न निकै धौधौ परेको बताइन्छ ।