समाचार

गुजरातविरुद्ध नेपालको प्रभावशाली जित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप)मा प्रभावशाली जित निकालेको छ । पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरूवात गरेको हो । जितको लागि ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । रोहित पौडेल २६ बलमा ३ चौकासहित ३३ रनमा नट आउट रहे । नेपालका ओपनर कुशल भुर्तेल १६ बलमा २ छक्कासहित १७ र आसिफ शेख १६ रनमा आउट भए । गुजरातका तेजास पटेल र हेमांग पटेलले १–१ विकेट लिए ।

त्यसअघि साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भएको थियो ।
गुजरातका ओपनर रुद्र मयुर पटेलले २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रन जोडेका थिए । आर्यन देशाई ४, सराल प्रजापति १७, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए ।

नेपालको जितमा गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो । दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ । दुई टोलीले फाइनल खेल्नेछन् । दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कप तयारीको लागि नेपालले भारतमा अभ्यास गरेको हो ।