समाचार

पश्चिम बंगालमा आँधी, कम्तिमा ४ जनाको मृत्यु

file

काठमाडौं । भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । गर्मीको समयमा आउने काल वैशाखी नामको आँधीका कारण रुख ढल्दा लागेर चारजनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । आँधीमा परेर घाइते भएका तीनसय जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । जलपाईगुडीका एक स्थानीय बासिन्दाले धेरै शक्तिशाली आँधीले त्यस क्षेत्रका धेरै ठाउँमा असर गरेको बताएका छन् ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस विपत्तिसँग जुध्न नागरिकलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएकी छिन् । उनी गत राति नै घटनाको जानकारी लिन र घाइतेहरूलाई भेट्न आँधी प्रभावित क्षेत्रमा पुगेकी छिन् । उनले मृतक र घाइतेका आफन्तलाई जिल्ला प्रशासनले आचारसंहिता पालना गरी नियम कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने बताइन् । उनले विपद् व्यवस्थापन कार्यमा सम्बन्धित सबैलाई संलग्न भएर राहत दिन आग्रह गरिन् । यस प्रकोपबाट प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ ।