फिचर

लगानी सम्मेलनमा अमेरिकी चेम्बरका लगानीकर्ता आउने

काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यस्तो जानकारी गराएका हुन् । लगानी सम्मेलन सफल पार्न आफूहरुको तर्फबाट सहयोग हुने उनको भनाइ छ । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो ।

भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री पुनले लगानी सम्मेलनको राम्रो तयारी भएको भन्दै लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानुनी र प्रक्रियागत सुधारको तयारी भइरहेको बताए । ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमै सबै खाले तयारी गर्न निर्देशन दिनुभएको छ,’ पुनले भने, ‘लगानीको वातावरण निर्माण हुने भएकाले बढीभन्दा बढी अमेरिकी लगानीकर्ता ल्याइदिन यहाँ र दूतावासबाट सहयोगको अपेक्षा गरेका छौं ।’

राजदूत थम्प्सनले लगानी सम्मेलनको पूर्वसन्ध्यामा लगानी वातावरण रहेको सन्देश दिन मन्त्री पुनलाई आग्रह गरे । नेपालले लगानी वातावरण सुधारका लागि क्रेडिट मूल्यांकन (कन्ट्री रेटिङ) को काम अघि बढेको जानकारी पनि मन्त्री पुनले राजदूत थम्प्सनलाई दिए ।