समाचार

जर्मनीमा गाँजाले पायो वैधानिकता

काठमाडौं । जर्मनीले सन् २०२४ को एप्रिल १ देखि गाँजा प्रयोगलाई कानुनी मान्यता दिएको छ। उता, प्रहरी सङ्गठनहरूले भने त्यसले नोक्सान पुर्‍याउन सक्ने चेतावनी दिइरहेका छन्। एप्रिल फूल अर्थात् १ एप्रिलका दिन कानुनमा परिवर्तन भएको भए पनि यो ठट्टा भने होइन। गाँजालाई कानुनी नबनाएर अपराध मान्दा समेत दशौँ लाखले गाँजा सेवन गर्ने गरेका थिए । गाँजा कानुनी रूपमा उपलब्ध हुनुपर्ने वकालत गर्दै आएका समर्थकहरू भन्छन्( यसले कालो बजार अन्त्य गर्नेछ र गाँजाको गुणस्तर नियन्त्रणमा सुधार हुनेछ।

नयाँ नियम अनुसार १८ वर्ष माथिका व्यक्तिले सार्वजनिक स्थानमा जाँदा २५ ग्रामसम्म गाँजा आफ्नो साथमा राख्न पाउँछन् । हरेक घरमा तीन वटासम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ । मानिसहरूले विद्यालय र खेल केन्द्र वा पैदल यात्री हिँड्ने क्षेत्रमा बिहान ७ देखि बेलुका ८ बजेसम्म देखिने गरी गाँजा खान पाउने छैनन् । ५०० सदस्यसम्म रहन पाउने गरी गाँजा हुर्काउनेहरूको सङ्गठन वा “सोसल क्लब”हरू खोल्न पाइनेछ । त्यस्ता क्लबका सदस्यको उमेर १८ वर्ष माथि हुनु पर्नेछ र जर्मनीमा बसोबास गर्ने हुनुपर्नेछ । क्लबहरूले गाँजा खेती र गाँजा वितरण गैरनाफामुखी तवरमा मात्र गर्न पाउनेछन् । गाँजाखेती हुने ठाउँमै गाँजा खाने अनुमति हुनेछैन ।

नयाँ व्यवस्थाले कालो बजारीलाई झन् बलियो बनाउने जर्मन प्रहरी युनियनका एलेक्जेन्डर पोइट्ज ठान्छन् । जर्मन प्रहरी यूनियन गेवेर्कसाफ्ट डेर पोलित्जाई ९जीडीपी०का एलेक्जेन्डर पोइट्ज भन्छन्, “यस्तो व्यवस्थाले कालो बजार झन् बलियो बनाउने हामी ठान्छौँ।” उनको विश्वास छस् “मागचाहिँ कानुनी मान्यताले दिने आपूर्ति भन्दा बढी हुनेछ। किनभने घरमा गाँजा लगाउनु भनेको त्यसको देखभाल गरेर महिनौँ लगाएर मात्र गाँजा उपलब्ध हुनु हो।”

बच्चाहरूको खेल्ने चौर, विद्यालय र खेल केन्द्रको १०० मिटर वरपरसम्म गाँजा खान पाइने छैन। व्यस्त र भिडभाडयुक्त सहरमा गाँजा खान मात्र पाइने स्थान बनाउनुपर्ने हुन सक्छ। प्रहरीले उपभोक्ता र विक्रेता भनेर छुट्याउन पनि मुस्किल पर्न सक्छ। किनभने एक जनाले सार्वजनिक स्थानमा जाँदा २५ ग्राम सम्म गाँजा साथमा राख्न पाउने भनिएको छ र त्यो दर्जनौँ पटक गाँजा खान सकिने मात्रा हो।


गाँजालाई वैध बनाउँदा हुने फाइदा र बेफाइदाबारे बहस गरिरहेका मुलुकहरूको लामो सूचिमा जर्मनी समेत छ। जर्मन सरकारले सन् २०२१ मा गरेको एक सर्वेक्षणमा १०.७५ पुरुष र ६.८५ महिलाले गत १२ महिनामा कम्तीमा एक पटक गाँजा प्रयोग गरेको पाइएको उल्लेख गरेको छ।

BBC