विश्व

क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार

Photo : BBC

काठमाडौं । भारत सरकारले क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका आफ्ना २५० जना नागरिकको उद्धार गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई अन्य काम दिने बहानामा क्याम्बोडिया पुर्‍याइएको भए पनि त्यहाँ साइबरसम्बन्धी गैरकानुनी काम गर्न बाध्य पारिएको थियो। क्याम्बोडियामा यसरी जबर्जस्ती काममा लगाइएका भारतीयहरूको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको समाचारहरूमा बताइएको छ।

संसारको अन्य भागका पनि हजारौँ मानिस दक्षिणपूर्वी एशियामा ठगीमा संलग्न गिरोह सञ्चालकको जालमा परेको समाचार प्राप्त भएको छ। युवा उमेरका तथा प्रविधिमा दख्खल राख्ने मानिसहरूलाई अवैध साइबर गतिविधिमा लगाउने गरेको पाइएको छ । यस्ता गिरोहले विशेषगरी युवा उमेरका तथा प्रविधिमा दख्खल राख्ने मानिसहरूलाई सुरुमा आकर्षक कामको प्रलोभन देखाउँछन् तर त्यसपछि सम्पत्ति शुद्धीकरण र क्रिप्टोकरेन्सीसम्बन्धी ठगीजस्ता अवैध काममा लगाउँछन्।

साथै प्रेमी वा प्रेमिका बनेर अरूसँग सम्बन्ध गाँस्न लगाई ठगी गर्नेजस्ता गतिविधि पनि त्यहाँ भएको पाइन्छ। त्यसलाई लभ स्क्याम भनिएको छ। सन् २०२३ को अगस्टमा प्रकाशित एक राष्ट्रसङ्घीय प्रतिवेदनअनुसार म्यान्मारमा कम्तीमा एक लाख २० हजार मानिसलाई अवैध साइबर गतिविधिमा लगाइएको छ। क्याम्बोडियामा यस्ता पीडितको सङ्ख्या कम्तीमा एक लाख रहेको प्रतिवेदनमा उल्लेख छ।

गत मार्चमा फिलिपिन्सको प्रहरीले यस्ता अवैध काममा जबर्जस्ती लगाइएका सयौँ मानिसहरूलाई उद्धार गरेको बताएको थियो। त्यसको केही साताअघि चीनले म्यान्मारमा यसरी काममा लगाइएका आफ्ना सयौँ नागरिकलाई उद्धार गरेको थियो। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले ठगीका गतिविधिका लागि जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न भारतले क्याम्बोडियाका सम्बन्धित निकायहरूसँग सहकार्य गरिरहेको बताएका छन्।

अहिलेसम्म उद्धार गरिएका २५० जनामध्ये ७५ जनालाई विगत तीन महिनामा उद्धार गरेको भारतीय अधिकारीहरूले बताएका छन्। बाँकीको उद्धार कहिले भएको हो भन्ने स्पष्ट हुन सकेको छैन। बीबीसीले भारतस्थित क्याम्बोडियाको राजदूतावाससँग प्रतिक्रिया मागेको छ। गत साता इन्डियन एक्स्प्रेस पत्रिकामा प्रकाशित एक समाचारका अनुसार क्याम्बोडियामा आफ्नो इच्छाविपरीत काममा लगाइएको भनेर १३० जनाले त्यहाँस्थित भारतीय दूतावासमा उजुरी दिएका छन्।

सो पत्रिकाका अनुसार क्याम्बोडियामा काम दिलाएर आफूलाई फसाइएको भन्दै दूतावासमा हरेक दिन औसतमा चार-पाँचवटा उजुरी दर्ता भएका छन्। दक्षिणपूर्वी एशियाका विभिन्न देशमा रहेका साइबर सेन्टरले भारतीय नागरिकलाई प्रयोग गर्दै भारतीयहरूलाई नै समेत ठग्ने गरेको बताइएको छ। कतिपयले आफू कानुन कार्यान्वयन गर्ने निकायको अधिकारी भएको बताउँदै पैसा माग्ने समेत गरेका छन्। ुइन्डियन एक्स्प्रेसुका अनुसार विगत छ महिनामा मात्र यस्ता गतिविधिहरूमा भारतीयहरूले कम्तीमा पाँच अर्ब रुपैयाँ गुमाइसकेका छन्।

स्टेफन भनी चिनाइएका एक पीडितले सो पत्रिकालाई बताएअनुसार मङ्गलुरु नामको दक्षिण भारतीय राज्यका एक दलालले उनलाई क्याम्बोडियामा डेटा इन्ट्रीको काम लगाइदिएका थिए। क्याम्बोडिया पुगेपछि उनलाई महिलाका तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली खाता बनाउन र ती खातामार्फत् मानिसहरूसँग सम्पर्क गर्न लगाइएको उनले बताएका थिए।