अर्थतन्त्र

आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं। विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ।

पाँच महिनाअघि बैंकले यो वृद्धि तीन दशमलव नौ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो। बैंकले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृृद्धि चार दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ।

खुद्रा तथा थोक व्यापारमा संकुचन आए पनि बैंकिङ तथा बीमा गतिविधिमा भएको विस्तार, पर्यटक आवगमनमा भएको वृद्धि, रेमिट्यानस आप्रवाहमा भएको वृद्धिले अर्थतन्त्रमा सुधार देखिएको विश्व बैंकले जनाएको छ ।

यो वर्ष मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ । आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने उसको अनुमान छ । विश्वमा तेलको मूल्यमा कमी आउने अपेक्षा भएकाले नेपालको मूल्यवृद्धि पनि नियन्त्रणमा रहने अपेक्षा छ ।

आगामी वर्ष अर्थतन्त्रमा थप बलियो बन्दै जाने विश्व बैंकले जनाएको छ । आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण छ । यद्यपि, यो प्रक्षेपण बहुचुनौतिसहितको रहेको विश्व बैंकले जनाएको छ । जसमा भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरूको सुस्त वृद्धिका कारण विपे्रषण र पर्यटनमा गिरावट आउन सक्ने विश्व बैंकले जनाएको छ ।

चुनौतीको सामना गर्नका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी रहेको उल्लेख गरेको छ । पूँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण हुने जनाइएको छ ।

सन् २०२६ मा ५.३ प्रतिशतको आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।