समाचार

नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल

काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी २० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी २० खेलको सिरिज आयरल्यान्ड ए ले २–१ ले जितेको थियो ।

नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी–२० खेलमा नेपाल ए लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् । नेपालको बलरमा कमलसिंह ऐरी, रिजन ढकाल र मौसम ढकाल पनि छन् । नेपाल र आयरल्यान्डबीचको खेल कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

उता आयरल्यान्डका पिटर मुर, ग्यारेथ डेलानी र कप्तान निल रक प्रमुख ब्याटर हुन् । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । उता सिनियर टोलीले आज भारतमा गुजरातसँग खेल्दैछ । नेपाल र गुजरातबीचको खेल दिउँसो २ : ४५ मा सुरु हुनेछ ।