विश्व

युक्रेनस्थित ऊर्जा केन्द्रमा हमला, दुर्घटनाको खतरा बढेको राष्ट्रसंघको चेतावनी

REUTERS\BBC

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय परमाणु निगरानी निकायले युक्रेनस्थित जापोरीजा ऊर्जा केन्द्रमा भएको नयाँ ड्रोन हमलाले ठूलो पारमाणविक दुर्घटना निम्त्याउने खतरा बढाएको चेतावनी दिएको छ। रुसले उक्त ड्रोन हमलामा युक्रेनको हात रहेको आरोप लगाएको छ। आक्रमणमा तीन जना घाइते भएको बताइएको छ। युक्रेनले चाहिँ उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

अहिले रुसको कब्जामा रहेको ६ वटा रिएक्टरहरू भएको उक्त विशाल ऊर्जा केन्द्र दुई देशबीचको युद्धको अग्रपङ्क्तिमा छ। संयुक्त राष्ट्र सङ्घीय निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले बारम्बार यस्ता आक्रमणविरुद्ध चेतावनी दिँदै आएको छ। आईएईएका प्रमुख रफाएल ग्रोसीले आइतवारको ड्रोन हमलालाई उक्त ऊर्जा केन्द्रले खेपिरहेको लापरबाहीपूर्ण गतिविधि र पारमाणविक सुरक्षामा बढ्दो खतरा भनेका छन्।

दक्षिणी युक्रेनस्थिति जापोरीजा ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो पारमाणविक ऊर्जा केन्द्र हो। रुसी फौजले सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण सुरु गरेको केही दिनपछि नै उक्त केन्द्र आफ्नो नियन्त्रणमा लिएका थिए। अहिले पनि जापोरीजा परमाणु ऊर्जा केन्द्र रुसी नियन्त्रणमै रहेको छ।

जापोरीजाबारे जानकारी भएका विज्ञहरूको टोलीसमेत रहेको आईएईएले पछिल्लो आक्रमणका कारण उक्त ऊर्जा केन्द्रमा एउटा रिएक्टरसहित भौतिक क्षति भएको पुष्टि गरेको छ। उक्त केन्द्रको रुसी प्रशासनले विकिरणको स्तर सामान्य रहेको र कुनै गम्भीर क्षति नभएको बताएको छ।

आईएईएले आक्रमणबाट भएको क्षतिका कारण पारमाणविक सुरक्षामा सम्झौता नभएको बताएको छ। तर उसले यो रिएक्टरको नियन्त्रण प्रणालीलाई कमजोर पार्नसक्ने सम्भावित गम्भीर खालको घटना भएको चेतावनी दिएको छ। ग्रोसीले ऊर्जा केन्द्रको प्रमुख रिएक्टर नियन्त्रण संरचनामा कम्तीमा तीन पटक प्रत्यक्ष प्रहार भएको बताए।

BBC