समाचार

काठमाडौंमा वर्षा, प्रदूषणबाट राहत

RSS

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा चट्याङ सहित वर्षा भएको छ । प्रदूषणका कारण प्रभावित वातावरणमा राहत मिलेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा अपरान्ह वर्षा भएसँगै प्रदूषण समेत घटेको छ । ‘वायुमण्डलमा थुप्रिएको प्रदूषित हावाका कणलाई पानीले तल झारेको छ । त्यसले गर्दा काठमाडौं नजिकका पहाडहरु छ्याङ्ग देखिन थालिसकेका छन् ।

केही दिनयता पानी पनि नपर्दा र हावा पनि नचल्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो । आज बिहान पनि काठमाडौंको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) २०० भन्दा माथि रहेको थियो ।


आज गण्डकी प्रदेशमा विकसित भएको स्थानीय वायुको प्रणाली गोर्खा हुँदै काठमाडौं उपत्यका छिरेको थियो । गण्डकी, बागमती र कोशी भेगका पहाडी क्षेत्रतिर यसको प्रभाव रहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सुन्दरीजलमा ९ मिलिमिटर वर्षा भएको छ । यसैगरी कीर्तिपुरमा ७.२ मिलिमिटर वर्षा मापन भएको छ ।

अहिले प्रिमनसुनको समय भएकाले साँझपख हावाहुरी, चट्याङ र पानी पर्ने क्रम भोलि र पर्सितिर पनि हुन सक्ने मौसमविदले पूर्वानुमान गरेका छन् । महाशाखाले आज साँझ जारी गरेको बुलेटिनमा भोलि पनि कोशी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित पानी पर्ने उल्लेख छ ।