विश्व

भियतनाममा अर्बपति महिलामाथि किन सुनाइयो मृत्युदण्डको सजाय ?

काठमाडौं । भियतनाममा एक अर्बपति महिला व्यवसायी ट्रूङ मी लानमाथि मृत्युदण्डको सजाय सुनाइएको छ । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ। ६७ वर्षीया महिला घरजग्गा कारोबारी हुन्। अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो। यो दुर्लभ फैसला हो। भियतनाममा कुनै वित्तीय अपराधमा महिलालाई पहिलो पटक मृत्युदण्ड सुनाइएको हो।

लानले साइगन कमर्शल ब्याङ्क .(एससीबी) बाट ४४ अर्ब डलर ऋण लिएको दाबी गरिएको छ । अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ। तर अभियोजनकर्ताहरूले त्यो रकमध्ये २७ अर्ब डलर कहिल्यै पनि उठ्न नसक्ने आशङ्का व्यक्त गरेका छन्। केही व्यक्तिले हराइरहेको रकम फेला पार्न उनलाई दबाव दिने उद्देश्यले उनलाई मृत्युदण्डको सजाय सुनाइएको अनुमान गरेका छन्।


प्रायः गोप्यता राख्न रुचाउने कम्युनिस्ट अधिकारीहरूले यो मुद्दाबारे धेरै कुरा सार्वजनिक गरेका छन्। यो मुद्दामा २,७०० जनासँग बयान लिइएको बताइएको छ। यो मुद्दामा १० सरकारी अभियोजक र झन्डै २०० वकिल संलग्न थिए। प्रमाणहरू १०४ वटा बाकसमा राखिएका छन्। तिनको तौल छ टन छ। ट्रूङ मी लानसहित ८५ जनालाई प्रतिवादी बनाइएको थियो। उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी थिइन्।

उनीसहित १४ जनालाई मृत्युदण्ड माग गरिएको थियो। “यसरी कम्युनिस्ट शासनकालमा सार्वजनिक रूपमा यो स्तरमा प्रचार गरेर विगतमा कहिल्यै पनि सुनुवाइ भएको थिएन,” अमेरिकी विदेश मन्त्रालयका अवकाशप्राप्त अधिकारी डेभिड ब्राउन भन्छन्। यसलाई कम्युनिस्ट पार्टीका महासचिव नुइन फू चानको नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानको सबैभन्दा नाटकीय अध्याय मानिएको छ।

यी महिलाले आफ्नी आमासँगै बजारमा शृङ्गारका सामान बेचिन्। कम्युनिस्ट पार्टीले दोई मोई नामक आर्थिक सुधार थालेदेखि सन् १९८६ मै उनी घरजग्गा किन्न थालिन्। सन् १९९० को दशकमा धेरै होटल र रेस्टुराँहरू उनको स्वामित्वमा थिए। ट्रुङ मी लान सन् २०११ सम्म हो ची मिन्ह सिटीमा चर्चित व्यापारीका रूपमा स्थापित भइसकेकी थिइन्। उनले आर्थिक सङ्कट खेपेका तीनवटा साना ब्याङ्क गाभेर एउटा ठूलो ुसाइगन कमर्शल ब्याङ्कु बनाउने अनुमति पाएकी थिइन्।

भियतनामको कानुनले कुनै पनि व्यक्तिलाई कुनै पनि ब्याङ्कमा पाँच प्रतिशतभन्दा बढी शेअर राख्न प्रतिबन्ध लगाउँछ। तर अभियोजकहरूका अनुसार सयौँ ुशेल कम्पनीु खडा गरेर र नक्कली मानिसहरू उभ्याएर उनले साइगन कमर्शल ब्याङ्कको ९० प्रतिशत भन्दा बढी स्वामित्व आफूसँग राखेकी थिइन्।

लिइएको ऋणको परिमाण पनि छक्क पार्ने खालको छ। सो ब्याङ्कले प्रवाह गरेको ऋणको ९३ प्रतिशत उनले लिएको देखिन्छ। अभियोजकहरूका अनुसार सन् २०१९ को फेब्रुअरीदेखि तीन वर्षको अवधिमा उनले आफ्ना चालकलाई चार अर्ब डलरभन्दा बढी रकम ब्याङ्कबाट निकाल्न लगाएकी थिइन्। त्यो रकम उनको घरको भुइँतलामा थुपारिएको थियो। भियतनामको सबैभन्दा ठूलो ब्याङ्क नोटबाट त्यति रकम निकाल्दा पनि त्यसको कुल तौल दुई टन हुने बताइन्छ।

आफ्नो ऋणमाथि कहिल्यै पनि अनुसन्धान नगरियोस् भन्ने सुनिश्चित गर्न घुस खुवाएको आरोप पनि उनीमाथि छ। केन्द्रीय ब्याङ्कका एक प्रमुख निरिक्षणकर्तालाई पनि उनीसँग मिलेमतो गरेको अभियोग लागेको छ। उनले ५० लाख डलर घुस लिएको भन्दै आजीवन कारावासको सजाय माग गरिएको छ।

बीबीसी