समाचार

हिजबुल्लाहले इजरायलमा गर्यो हमला, क्षति भने न्यून

काठमाडौं । लेबनानको सैन्य समूह हिजबुल्लाहले उत्तरी इसराइलमा मिसाइल र ड्रोन हमला गरेको छ। बुधबार हिजबुल्लाहले इसराइलको उत्तरी भूभाग अरब अल अरमशीको बेदोइनमा रहेको सैन्य अड्डामा हवाई हमला गरेको हो। समाचार संस्था रोयटर्सका अनुसार उक्त हमलामा परी १४ जना इसराइली सेना घाइते भएका छन्।

इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले पनि लेबनानबाट हिजबुल्लाहले इसराइलमाथि आक्रमण गरेको पुष्टि गरेको छ। हिजबुल्लाहले उक्त हमलालाई मंगलबार इसराइलले मंगलबार लेबनानमा गरेको आक्रमणको जबाफ भनेको छ।इसराइलको उक्त आक्रमणमा हिजबुल्लाहको फिल्ड कमाण्डरसहित ३ लडाकुको मृत्यु भएको थियो।


हिजबुल्लाहको आक्रमणबाट घाइते भएका १४ इसराइली सैनिकमध्ये ६ जनाको अवस्था गम्भीर रहेको रोयटर्सले उल्लेख गरेको छ। हिजबुल्लाह र इसराइलबीच ६ महिनादेखि आक्रमण प्रत्याक्रमण भइरहेको छ। इसराइलले गजामा लगातार हमला गर्न थालेपछि इसराइलमाथि दबाब बढाउन हिजबुल्लाहले लेबनानबाट आक्रमण गरिरहेको छ।

इसराइलको जवाफी आक्रमणमा अहिलेसम्म त्यहाँ ३७० जना मारिएको रोयटर्सले उल्लेख गरेको छ। जसमध्ये २४० जना हिजबुल्लाह लडाकु र ६८ जना लेबनानी नागरिक रहेका छन्। हिजबुल्लाहको आक्रमणमा १८ जना इसराइली सैनिक मारिएको बताइएको छ।