समाचार

कामको खोजिमा ९ महिनामा विदेशिए साढे ५ लाख नेपाली

file

काठमाडौं । चालु आर्थिक वर्ष २०८०\८१ को ९ महिना (साउन–चैत)मा नेपालबाट कामको खोजीमा विदेशिनेको संख्या ५ लाख ३९ हजार ६९ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा केही कम हो । गत वर्षको ९ महिनामा ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएका थिए । नेपालबाट कामको खोजीमा चैत महिनामा मात्र झन्डै ७१ हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या हो । यो संख्या गत वर्ष चैतको तुलनामा समेत धेरै हो ।

विभागका अनुसार २०७९ चैतमा ६१ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका थिए । यस आवको मंसिरमा जारी ६८ हजार २०१ श्रम स्वीकृति जारी भएको थियो । त्यसपछि चैतमा धेरै श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा उल्लेख छ ।

चैत २०८० मा यूएईमा मात्र १७ हजार ८१८ जना नेपाली विदेशिएका छन् । साउदी अरेबियामा १३ हजार ६४१ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा १२ हजार ६०२, कतारमा ११ हजार २०४ र कतारमा ४ हजार ७६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस महिनामा रोमानियामा २२ सय ९९, जापानमा १३ सय ५१, बहराइनमा ९६४, क्रोएसियामा९६०, साइप्रसमा ७८१ जनाले श्रम स्वीकृति लिएका छन् ।