समाचार

सनराइजर्सको आक्रामक ब्याटिङ अगाडी टिक्न सकेन दिल्ली

काठमाडौं । दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङको मद्दतमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्क्यापिटल्समाथि ६७ रनको जित निकालेको छ । पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हैदराबादको प्लेअफ खेल्ने सम्भावना समेत बलियो बनेको छ । २६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो ।

दिल्लीका ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ६ चौका र ७ छक्कासहित ६५ रन बनाए । ऋषभ पन्त ४४, अभिषेक पोरल ४२, पृथ्वी शा १६ र डेविड वार्नर १ रनमा आउट भए । हैदराबादका टी नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । मयंक मारकंडे र नितेश रेड्डीले २–२ तथा वासिन्टन सुन्दर र भुवनेश्वर कुमारले १–१ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो । हैदराबादले यसअघि मुम्बईविरुद्ध २७७ र बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो । हैदराबादका ट्रविस हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन बनाए । अभिषेक शर्मा १२ बलमा २ चौका र ६ छक्कासहित ४६ रनमा आउट भए । यी दुई ओपनरले पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा १२५ रन बनाएका थिए । आईपीएलमा पावर प्लेमा बनेको सर्वाधिक रन हो । यसअघि कोलकाताले बेंगलोरविरुद्ध २०१७ मा १०५ रन बनाएको थियो ।

शहबाज अहमदले २९ बलमा २ चौका र ५ छक्कासहित ५९, एडेन माक्ररम १, हेनरिक क्लासेन ३७ र अब्दुल सामदले १३ रन बनाए । दिल्लीका कुलदीप यादवले ४ ओभरमा ५५ रन खर्चेर ४, मुकेश कुमार र अक्षर पटेलले १–१ विकेट लिए । राजस्थान ७ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ ।