स्वास्थ्य

तराई भेगमा गर्मीको कहर, भैरहवामा ४३.६ डिग्रि तापक्रम

काठमाडौं । देशभर गर्मी बढ्दै जाँदा जनजिवन प्रभावित भएको छ । खासगरी तराई मधेशमा गर्मी उच्च तहमा पुगेको हो । यसले तातो हावा चल्दा लु लाग्ने सम्भावना समेत बढाउँछ । बाँके, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस भएको छ । गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी मापन भएको छ । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो दिन भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो । शनिबार धनगढीमा ४०.६ र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ ।

तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना नभएका कारण गर्मी अझै बढ्नेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको प्रक्षेपण गरेको छ । मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना छ । ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध समेत गरेको छ ।