समाचार

कतारका आमिर दुई दिने भ्रमणमा मंगलबार नेपाल आउने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् । भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

थानी २४ अप्रिलमै काठमाडौंबाट कतार प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किने र त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्नेछन् । अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन् । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो ।