समाचार

इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा

काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् । २०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको छ ।

तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो पल जस्ता खेलाडी टोलीमा छन् । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आगामी शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

ओपनर इभिन लुइस छनोटमा उपलब्ध नभएकाले र ब्रेन्डन किंग भने चोटका कारण नेपाल आउने छैनन् । वेस्टइन्डिज क्रिकेट टोली आफ्नो इतिहासमै पहिलो पटक नेपाल आउन लागेको हो । नेपाल आउने वेस्टइन्डिज टोलीमा रहेका जोनसन चार्ल्सले वेस्टइन्डिजलाई २०१२ र २०१६ मा टी-२० विश्वकप उपाधि जिताउन सानदार प्रदर्शन गरेका थिए ।

२०१६ को सेमिफाइनलमा भारतलाई ७ विकेटले हराउन उनले ५२ रन बनाएका थिए । २०१२ को विश्वकपमा इंग्ल्यान्डलाई हराउन ८४ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । गत वर्ष मात्रै दक्षिण अफ्रिकाविरुद्ध उनले ४६ बलमा १० चौका र ११ छक्कासहित ११८ रनको सानदार शतक हानेका थिए ।

३५ वर्षीय चार्ल्सले ५८ ओडीआई र ४८ टी-२० आई खेल खेलेका छन् । यसैगरी यसअघि राजस्थान रोयल्सबाट आईपीएल खेल्ने ओबेद म्याककोय पनि नेपाल आउने छन् । ओबेद वर्तमान वेस्टइन्डिजका प्रमुख बलर हुन् । वायाँ हाते तीव्र गतिका बलर उनले २०२२ मा दोस्रो टी-२० आई खेलमा भारतविरुद्ध ४ ओभरमा १७ रन खर्चेर ६ विकेट लिएका थिए ।

२७ वर्षीय तीव्र गतिका बलर थोमस पनि अर्का ठूला नाम हुन् । उनले २५ ओडीआई र २१ टी-२० आई खेल खेलेका छन् । चोटका कारण नियमित भने खेल्न सकेका छैनन् ।

वेस्टइन्डिजको टोली

रोस्टन चेश, एलिक एथानाजे, फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।