समाचार

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले सनसनीपूर्ण जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्लीले गुजरातमाथि ४ रनको सनसनीपूर्ण जित निकालेको हो। दिल्लीले दिएको २२५ रनको लक्ष्य पूरा गर्न गुजरातलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो। रसिद खान ब्याटिङमा थिए। दिल्लीले मुकेश कुमारलाई अन्तिम ओभर बलिङमा पठाएको थियो। पहिलो र दोस्रो बलमा रसिदले चौका प्रहार गरे। तेस्रो र चौथो बल डट हुन पुग्यो। पाँचौं बलमा रसिदले छक्का प्रहार गरे। अन्तिम बलमा जितका लागि पाँच रन आवश्यक थियो।

रसिदले अन्तिम बललाई बाउन्ड्री पार गराउने कोशिस गरे पनि प्रयास निरर्थक बन्दा गुजरात ४ रनको हार ब्यहोर्न पुग्यो। खेलमा रसिद खान ११ बलमा ३ चौका र १ छक्का प्रहार गरी २१ रन बनाएर नट आउट रहे। त्यसअघि साई सुदर्शनले सर्वाधिक ६५ रन बनाएका थिए। उनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरे। डेविड मिलरले अर्धशकीय पारी खेले। उनले २३ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५५ रनको योगदान गरे।

ओपनर रिद्धिमन साहले ३९ रन जोडे। उनले २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कप्तान शुभमन गिल पाँच बलमा ६ रन बनाएर आउट हुन पुगेका थिए। त्यस्तै अजमतुल्लाह ओमरजइ १ रनमा साहरूख खान ८ रनमा र राहुल टेवाटिया ४ रन बनाएर आउट भएका थिए। साइ किशोरले ६ बलमा २ छक्का प्रहार गरी १३ रनको योगदान दिए।

बलिङमा राशिख सलामले ३ र कुलदीप यादवले दुई विकेट लिए। एनरिच नोर्त्जे, मुकेश कुमार र अक्षर पटेलले १–१ विकेट लिए। पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २२४ रनको योगफल तयार गरेको थियो। त्यस क्रममा कप्तान रिसभ पन्तले विस्फोटक ब्याटिङ गरे। उनले अन्तिम ओभरमै ४ छक्का र १ चौका प्रहार गरी ३१ रन बनाएका थिए। उनी ४३ बलमा ८८ रन बनाएर नट आउट रहे। त्यस क्रममा ५ चौका र ८ छक्का प्रहार गरे।

त्यस्तै ट्रिस्टन स्टुब्सले अविजित २६ रन बनाए। ७ बल मात्रै खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। त्यसअघि अक्षर पटेलले ६६ रन जोडेका थिए। ४३ बलमा उनले ५ चौका र ४ छक्का हाने। ओपनर पृथ्वी श ११ रन बनाएर आउट हुँदा अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका जेक फ्रेजर मिकगर्क गुजरातविरूद्धको खेलमा १४ बल खेलेर आउट हुन पुगे। त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरी २३ रन जोडेका थिए।

त्यस्तै शाई होप पनि ५ रन बनाएर आउट भएका थिए। बलिङमा गुजरातका सन्दीप वारियरले ३ विकेट लिए। जितसँगै दिल्लीले अंक तालिकामा सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ भने गुजरात सातौं स्थानमा झरेको छ।