समाचार

इन्टरनेट सेवा प्रदायकले किन दिए सेवा बन्द गर्ने चेतावनी ?

काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) ले सरकारलाई विदेशी मुद्रा सटही गरिदिन आग्रह गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले सरकारलाई उक्त आग्रह गरेको हो। ब्यान्डविथको रकम नतिरेको भन्दै इन्टरनेट अवरूद्ध हुने चेतावनी आएको आइस्पानले जनाएको छ। त्यसैले सरकारलाई विदेशी मुद्रा सटही गरिदिन उसले आग्रह गरेको हो। इन्टरनेट प्रदायक संस्थाहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मतसम्भार शीर्षक अन्तर्गतको बक्यौता नतिरेको भन्दै विगत नौ महिनादेखि विदेशी मुद्रा सटही सिफारिस गरेको छैन।


ुमुद्रा सटही सिफारिस नपाउँदा अपस्ट्रिम प्रोभाइडरहरूलाई ब्यान्डविथको रकम भुक्तानी गर्न सकिएको छैन,ु आइस्पानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इन्टरनेट सेवा अवरूद्ध हुने यसै साता पत्र आइसक्यो। सरकारले तुरून्तै विदेशी मुद्रा सटही सिफारिस गर्नुपर्छ।’

मर्मतसम्भार शीर्षक अन्तर्गतको बेरूजु बक्यौता असुल उपर गर्ने विषयमा वर्षौंदेखि इन्टरनेट सेवा प्रदायकहरू र नियामक नेपाल दूरसञ्चार प्राधिकरणबीच विवाद छ। सेवा प्रदायकहरूले मर्मतसम्भार गैरदूरसञ्चार सेवा भएको दाबी गर्दै आएका छन्। यसबारे कुनै बेरूजू नरहेको अडान उनीहरूको छ। ग्राहकबाट लिइएको शुल्कको सम्बन्धमा सो शुल्कको ग्रामीण दूरसञ्चार कोष (आरटिडिएफ) तथा रोयल्टी इन्टरनेट सेवा प्रदायकले नियम बमोजिम नेपाल सरकारलाई तिरिरहेको उनीहरूको भनाइ छ।