समाचार

सुकुम्बासीका छाप्रा भत्काउनु हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुमबासीका छाप्रा भत्काएर हटाउन नहुने बताएका छन् । भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुकुमबासी समस्या व्यवस्थित रूपमा समाधान गर्न आग्रह गरेका हुन् ।

‘लोकतन्त्रमा जे पनि गर्न मिल्दैन । समस्याको व्यवस्थापन गर्नुपर्छ, समाधान गर्नुपर्छ । जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊँ, नखाए मर भन्ने सरकार हुँदैन,’ ओलीले भने, ‘त्यो केन्द्रीय सरकार होस कि, प्रदेश सरकार होस कि, स्थानीय सरकार । जनताप्रति उत्तरदायित्व नलिने, अनुत्तरदायी, गरिब भनेको देख्न नसक्ने, सुकुमबासी देख्नै नहुने गर्न हुँदैन ।’

‘मैले पोहोर, परारको साल पनि भनेको थिएँ, सुकुमबासीका प्लास्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर । प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ? कर्कला फाँड्न बन्चरो लिएर जाने ? सुकुमबासीलाई लखेट्ने होइन, समस्या समाधान गर्नुपर्‍यो,’ उनले भने । ओलीले देशभर प्रशस्त जमिन भएकाले व्यवस्थापनको समस्या नरहेको बताए ।

उनले भने, ‘यत्रो देशमा यति जनता व्यवस्थापन गर्न पुग्ने जमिन छ, ठाउँ छ । अवसर छ । ती चिजहरू गरौं । नगरपालिकासँग यति धेरै पैसा छ, सुकुमबासी बस्तीको एउटा छेउमा घरहरू बनाइदिऊँ ।’ योजनावद्ध ढंगले बस्तीको विकास गरेर सुकुमबासी राख्ने र रोजगारीलगायतमा काम गर्न ओलीले तीनै तहका सरकारलाई आग्रह समेत गरे ।