समाचार

अमेरिकाबाट फिर्ता गरियो २४ कलाकृति

काठमाडौं । अमेरिकाबाट २४ वटा कलाकृतिहरु नेपाललाई फिर्ता गरिएको छ । अमेरिकाको हवाई राज्य निवासी सुसन ब्राडफोर्डले नेपालको पुरातत्व विभागलाई फिर्ता गरेकी हुन् । उनले कलाकृतिहरु वासिङटन डीसीस्थित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरेलाई हस्तान्तरण गरेकी हुन् ।

दूतावासका अनुसार ब्राडफोर्डले व्यक्तिगत पहलमै उक्त कलाकृतिहरु नेपाल पठाउनका लागि हस्तान्तरण गरेको हो । ती कलाकृतिहरु १३ औं, १७ औं र १८ औं शताब्दीका रहेका छन् ।

ती कलाकृतिहरुलाई ब्राडफोर्डले नै खर्च बेहोरेर नेपाल पठाउन लागिएको दूतावासले जनाएको छ । पहल गरेकोमा ब्राडफोर्डलाई दूतावासले धन्यवाद दिएको छ । दूतावासका अनुसार विगत एक वर्षको अन्तरालमा अमेरिकाबाट ६३ कलाकृतिहरु नेपाल पठाइएका छन् ।