समाचार

दैलेखमा सुरु भयो पेट्रोलियम पदार्थको अन्वेषण

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आजदेखि ुड्रिलिङु को काम शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इन्चार्ज डा। याङ्ग पिङ्गले आज उत्खनन स्थलमा नेपाल र चीनको राष्ट्रिय झण्डोत्तोलन गरेर ड्रिलिङ कार्य शुभारम्भ गरेका हुन् । नेपाल सरकार र चीन सरकारबीच सन् २०१६ मा भएको सम्झौताअनुसार अन्वोषणका लागि ड्रिलिङ शुरु भएको हो ।

यसअघि दैलेखका चार वटा ठाउँमा विभिन्न चरणमा गरिएका भौगर्भिक सर्भेबाट पेट्रोलियम पदार्थ बढी भण्डारण पाइएको र उत्खननमा सहज हुने निष्कर्षसहित भैरवी गाउँपालिका–१ जलजलेमा ुड्रिलिङ शुरु गरेको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितले जानकारी दिए । अन्वेषणका लागि सरकारले जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गा अधिग्रण गरिदिएको छ । ड्रिलिङका लागि एक सय ७५ ट्रक सामग्री ड्रिलिङ स्थलमा पुर्‍याइएको छ । अबको दुई महिनामा चार किलोमिटर तलसम्म ड्रिलिङ गर्ने लक्ष्य छ ।

प्रारम्भिक अध्ययनअनुसार जलजलेसमा नेपालका लागि झन्डै १० वर्षलाई पुग्ने पेट्रोलियम पदार्थ भएको अनुमान छ । तर भित्र भएको भण्डारण, निकाल्ने सकिने सम्भावना, गुणस्तरलगायतका बारेमा भने ड्रिलिङको प्रतिवेदन पछि मात्रै थाहा हुनेछ ।