समाचार

जापानी विदेशमन्त्री र राष्ट्रपतिबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी जापानकी परराष्ट्र मन्त्री कामीकावा योकोले शिष्टाचार भेटवार्ता गरेकी छन्। आइतबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सजन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनिकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

राष्ट्रपति पौडेलले दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधैं जापानको उच्च सद्भाव महसुस गरेको पनि बताए। नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए।

सो अवसरमा जापानी परराष्ट्रमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताइन्। उनले सन् २०५० सम्ममा कार्वन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वैकल्पिक उर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताइन्।

नेपालको विकास र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने उनको भनाइ छ।