समाचार

रातको समयमा राखिएका झिलिमिलि बत्तिबारे महानगरले अध्ययन गर्ने

काठमाडौं । रातको समयमा शहरको सजावटका लागि काठमाडौं महानगरपालिकाभित्र विभिन्न ठाउँमा राखिएका बत्तीहरूको वातावरणीय, जनस्वास्थ्य, शहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलको अध्यक्षतामा मंगलबार बसेको अनुगमन समितिको बैठकमा सजावटका लागि राखिएका बत्तीले गाडी आउजाउ, रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावर तथा रुखबिरुवालाई कस्तो असर पार्छ भन्नेबारे विभिन्न पक्षबाट अध्ययन गर्ने निर्णय भएको हो ।

बैठकमा उपमेयर डङ्गोलले सजावटका बत्ती कहाँ राख्नुपर्ने हो, कति समयका लागि बाल्नुपर्ने हो, बत्ती राख्दाका प्रभाव के हुन् भन्नेबारे थाहा पाउन जरुरी रहेको भन्दै यसका लागि छिट्टै प्रतिवेदन आउने गरी अध्ययन गराउनुपर्ने बताइन् । यसका लागि वातावरण र इलेक्ट्रिक इन्जिनियरसहितको टोलीले अध्ययन गर्ने र अध्ययनले गरेका सिफारिसका आधारमा यस्ता बत्तीको व्यवस्थापनका बारेमा निर्णय लिइने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए ।