विश्व

अमेरिकाले इजरायल पठाउन लागेको बमको ढुवानी रोक्यो

EPA-EFE/REX/SHUTTERSTOCK\BBC

काठमाडौं । दक्षिणी गाजाको रफाह क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही गर्न लागेको आशङ्कामा अमेरिकाले सो मुलुकलाई उपलब्ध गराउन लागेको विस्फोटक पदार्थ गत साता रोकिदिएको खुलासा भएको छ । बीबीसीका अनुसार अमेरिकी साझेदार सीबीएसलाई अमेरिकी अधिकारीले यसको खुलासा गरेका छन् । त्यो खेपमा १,८०० वटा ९०७ केजीका बम र १,७०० वटा २२६.८ केजीका बम थिए।

रफाह क्षेत्रमा भएका गैरसैनिक नागरिकहरूको विषयमा अमेरिकाले व्यक्त गरेको सरोकारलाई इजरायलले पूर्ण रूपले सम्बोधन नगरेपछि अमेरिकाले हतियारको ढुवानी रोकेको बताइएको छ । इजरायलले यस विषयमा तत्काल कुनै टिप्पणी गरेको छैन। इजरायली सेनाले इजिप्टसँग सीमा जोडिएको भागपट्टि रफाह नाकामा नियन्त्रण कायम गरेको केही घण्टापछि मङ्गलवार राति गाजा स्ट्रिपमा थप हवाई आक्रमण गर्‍यो।

इजरायलले रफाह क्षेत्रवरिवरि सघन बम आक्रमण गरिरहेको छ। स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार राति भएको एउटा आक्रमणमा एउटै परिवारका सात जनाको मृत्यु भएको छ। गाजामा सहायता पठाउनका लागि रहाफ एउटा महत्त्वपूर्ण नाका हो। गत अक्टोबर महिनामा इजरायल र हमासबीच लडाइँ सुरु भएपछि उक्त नाका हुँदै हजारौँ मानिसहरू अन्यत्र गएका छन्। सोमवार इजरेली सेनाले रफाह सहरको पूर्वी भागबाट दशौँ हजार मानिसहरूलाई अन्यत्र जान आदेश दिएको छ।

इजरेली सेनाले हमासका लडाकुलाई निमिट्यान्न पार्न र तिनको भौतिक संरचानलाई ध्वस्त पार्न रफामा ूसीमितू सैन्य कारबाही गर्न लागेको बताउँदै आएको छ। अहिले गाजामा युद्धविराम गराउने प्रयास पनि भइरहेको छ। हमासले बन्धक बनाएका इजरेली नागरिक र इजरेलका जेलमा भएका प्यालेस्टिनीहरूको साटफेर गर्ने विषयमा छलफल भइरहेको छ। मध्यस्थकर्ताहरूको सहयोगमा दुवै पक्षका प्रतिनिधिहरूले कायरोमा फेरि वार्ता हुन लागेको छ।