समाचार

माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता

काठमाडौं । भारत सरकारले मालदिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए । भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक दिन अगाडि मालदिभ्सका विदेशमन्त्री मुसा जमिर विहीबार भारत भ्रमणमा आएका छन् ।


यसै सन्दर्भमा भारतीय विदेश मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरी मालदिभ्सबाट भारतीय सैनिक फिर्ता भएको जानकारी गराएको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ती सैनिकहरुको स्थानमा गैरसैनिकको प्राविधिक टोली खटाइसकिएको छ । भारतको सरकारी आँकडा अनुसार मालदिभ्समा ८८ जना सैनिक थिए । मालदिभ्समा तीन विमानस्थलमा भारतीय सैनिकहरु तैनाथ थिए । उनीहरुले हिन्द महासागरमा पनि निगरानी गर्दथे ।

‘इण्डिया आउट’ चुनावी नारा दिएर सत्तामा आएका मुइज्जुले भारतीय सैनिकहरुलाई फिर्ता हुन १० मार्चदेखि १० मेसम्मको समयसीमा दिएका थिए । मालदिभ्सको मिहारु पत्रिकाका अनुसार एड्डु विमानस्थलमा २५ भारतीय सैनिक तैनाथ थिए । उनीहरु १० मार्चभन्दा अघि नै भारत फिर्ता भइसकेका थिए ।
एड्डु विमानस्थलमा भारतका दुई हेलिकप्टर र एउटा हवाईजहाज छन् । तिनको सन्चालन अब गैरसैनिक कर्मचारीहरुले गर्ने छन् ।