समाचार

पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहाल छनोट

काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा छनोट भएका छन् । प्रिन्स आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्सको पेरिसमा हुने ग्रिस्मकालीन ओलम्पिकमा युनिभर्सालिटी कोटामा छानिएको ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जनाएको छ । उनले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले युनिभर्सल कोटाअन्तर्गत प्रिन्सलाई ओलम्पिकमा छनोट गरेको हो ।

प्रिन्सले पछिल्लो पटक चिनमा भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेका थिए । जहाँ उनी छनोट चरण पार गर्दै मुख्य राउन्डमा पुगेका उनी शीर्ष वरियता खेलाडीसँग पराजित भएका थिए । उनले अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आफ्नो वरियतालाई समेत अघि बढाउँदै लगेका थिए । प्रिन्स ब्याडमिन्टनको जुनियरतर्फ विश्व नम्बर एकसम्म पुग्दै कीर्तिमान बनाएका थिए । ब्याडमिन्टन खेलको लागि यो एउटा ऐतिहासिक सफलता हो ।

प्रिन्सले आफ्नो लागि यो सपना पूरा भएको बताए । ‘एकदमै खुशी लागिराछ । सपना पुरा हुँदैछ । अझै धेरै गर्नु बाँकी छ’, उनले भने । प्रिन्सको ओलम्पिक सहभागिताबारे नेपाल ओलम्पिक कमिटी र नेपाल ब्याडमिन्ट संघले छिटै आधिकारिक रुपमा सार्वजनिक गर्ने भएको छ । यसको आधिकारिक घोषणा भने १२ दिनमा हुनेछ ।