गाजामा इजरेलको आक्रमण तीव्र, रफाह खाली गर्न आदेश
काठमाडौं । इजरेलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई अझ सघन बनाएको छ । उसले हजारौँ प्यालेस्टिनीलाई रफाह छोड्न आदेश दिएको छ। हवाईजहाजबाट पर्चा छर्दै तथा सामाजिक सञ्जालमार्फत् इजरेलले रफाहको पूर्वी भागमा बसेका मानिसहरूलाई अल–मवासीतिर जान भनेको हो । अल–मवासी एउटा साँघुरो क्षेत्र हो। इजरेलले उक्त स्थानलाई विस्तृत मानवीय क्षेत्र भनेको छ । रफाहमा केही दिनअघिसम्म स्थानीय बासिन्दा तथा विस्थापित मानिसहरूको घुँइचो लाग्ने गरेका सडकहरू अहिले निर्जन देखिएका छन् ।
संयुक्त राज्य अमेरिका तथा अन्य पश्चिमा राष्ट्रले रफाहमा इजरेलले गर्न लागेको स्थल कारबाहीप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले त्यहाँ हुने लडाइँले ठूलो सङ्ख्यामा सर्वसाधारण मानिस हताहत हुन सक्ने र मानवीय सङ्कट निम्तिन सक्ने चेतावनी दिँदै आएका छन्। यद्यपि इजरेल रफाहमा स्थल कारबाही गर्न दृढ देखिन्छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले हमासले इजरेली बन्धकहरूलाई छोडेको भोलिपल्टै युद्धविराम गर्न सम्भव हुने बताएका छन्।
इजरेलले रफाहबाट प्यालेस्टिनीहरूलाई ठाउँ छाड्न आदेश दिनुभन्दा केही घण्टाअघि अमेरिकाको विदेश मन्त्रालयले इजरेलले गाजा युद्धमा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै आफूले उपलब्ध गराएका हतियारहरू प्रयोग गरेको हुन सक्ने जनाएको थियो।
शनिवार रफाहको आकाशमा धुवाँको मुस्लो उडेको तस्बिरहरूमा देखिन्छ। समाचारसंस्था एएफपीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै इजिप्टसँगको सीमानजिकै हवाई आक्रमण भएको जनाएको छ। इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले सामाजिक सञ्जाल एक्समा लेख्दै अघिल्लो दिन इजरेली सैनिकहरूले रफाहमा हमाससँग आमुन्नेसामुन्ने भएर लडाइँ गरेको जानकारी दिएको छ।