विज्ञान प्रविधि

अमेरिकामा सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु

काठमाडौं । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि मृत्यु भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो । उनी अन्तिम चरणको मिर्गौला रोगबाट पीडित थिए ।


जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपणपछि केही समयका लागि उनलाई बचाउन सकिएको अस्पतालले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि प्रयोग गरिने सुँगुरको मिर्गौला म्यासाच्युसेट्स बायोटेक कम्पनी इजेनेसिसले प्रदान गरेको थियो ।

प्रत्यारोपणअघि हानिकारक सुँगुरको जीन हटाउन र केही मानव जीनलाई जोड्न यसलाई परिमार्जित गरिएको थियो । विश्वभर अङ्गको अभाव पुरानो समस्या रहेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार मार्चमा मिर्गौला प्रत्यारोपणका लागि एक हजार चार सयभन्दा बढी बिरामीको सूची रहेको थियो । स्लेम्यानमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण भएपछि अरु बिरामी पनि प्रेरित भएका खबरमा उल्लेख छ ।