विश्व

इण्डोनेसियामा चिसो लाभाको बाढी, दर्जनौं मानिस मारिए

EPA

काठमाडौं । पश्चिम इन्डोनेशियाको सुमात्रा द्वीपमा बाढी र एउटा ज्वालामुखी पर्वतबाट बगेको चिसो लाभाका कारण दर्जनौँ मानिस मारिएका छन् । शनिवार मुसलधारे वर्षा भएपछि सुमात्राको सबैभन्दा सक्रिय ज्वालामुखी पर्वत मरापीबाट खरानी र चट्टान बगेको हो । चिसो लाभा र लेदोयुक्त बाढीले सुमात्राका दुई जिल्ला प्रभावित भए। बाढीमा परेर कैयौँ मानिसको मृत्यु भयो भने १०० वटाभन्दा बढी घर तथा मस्जिद र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको छ।

अझै १८ जना सम्पर्कविहीन भएको भन्दै अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्। बाढीमा परेर जोगिन सफल केही व्यक्तिले पानी परेपछि ज्वालामुखी पर्वतबाट कसरी लेदो र गिट्टी आफ्नो घरतिर बग्दै आए भनेर वर्णन गरेका छन्। ‘मैले गड्याङगुडुङ र पानी उम्लिँदाको जस्तो आवाज सुनेँ । त्यो मरापी ज्वालामुखी पर्वतबाट आएको ठूलो चट्टान बज्रिँदाको आवाज थियो, अगम जिल्लामा बस्ने ४३ वर्षीया गृहिणी रिना डेभिनाले समाचारसंस्था एएफपीसँग भनिन्।

इन्डोनेशियाको खोज तथा उद्धार निकायका अनुसार आइतवार दिउँसोसम्ममा उद्धारकर्ताहरूले सर्वाधिक प्रभावित अगम जिल्लाको कैँडुआङ गाउँमा १९ शव वटा भेटे भने नजिकैको तनाह दातार जिल्लामा अन्य नौ जनाको शव फेला पर्‍यो। पर्यावरणविद्हरूले बीबीसी इन्डोनेशियालाई बताएअनुसार अहिलेको बाढी र भूस्खलन प्राकृतिक प्रकोपको त्यस्तो पछिल्लो शृङ्खला हो जसका लागि केही हदसम्म मानवीय गतिविधि पनि जिम्मेवार छ।

गत डिसेम्बर ५ मा ज्वालामुखी विस्फोट हुँदा पदयात्रामा हिँडेका २३ जनाको ज्यान गयो। यसै वर्ष फेब्रुअरीमा अचानक बाढी आउँदा तनाह दातारका दर्जनौँ घरमा क्षति पुग्यो। गत महिना मात्रै ज्वालामुखी विस्फोटनका कारण दुई किलोमिटरको उचाइसम्म आकाश खरानीयुक्त बादलले ढाकियो। उक्त घटनाका कारण त्यस क्षेत्रमा हवाई उडान अवरुद्ध भयो भने सडक पनि बन्द भएको थियो। त्यस क्षेत्रका ११,००० मानिसलाई अन्य सुरक्षित स्थानमा जान भनिएको थियो। स्थानीय मिनाङ भाषामा मरापीको अर्थ आगोको पहाड भन्ने हुन्छ।
बीबीसी