समाचार

लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८ रन बनाए । क्रुनाल पण्ड्याले १८, युधवीर सिंहले १४ र क्विन्टन डी ककले १२ रन बनाए । दिल्लीका इशान्त शर्माले ३, खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले एक–एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । अभिषेक पोरेलले ५८, ट्रिस्टन स्टब्सले ५७, साइ होपले ३८ र ऋषभ पन्तले ३३ रनको योगदान गरे । लखनउका नवीन उल हकले २, अर्शद खान र रवि विश्नोइले एक–एक विकेट लिए । दिल्लीले लिगचरणका सबै खेल सकेर १४ अंक जोडेको छ भने पराजित भएको लखनउले एक खेल बाँकी छ र १२ अंक जोडेको छ । यो नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ । लखनउले बाँकी एक खेलमा ठुलो अन्तरले जित निकालेमा सम्भावना बाँकी हुनेछ भने दिल्ली औपचारिक रुपमा बाहिरिन बाँकी छ ।