समाचार

संसदमा भएको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । यस्तो अवस्था आउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कांग्रेस महामन्त्री गगन थापाले बताए । प्रतिनिधि सभाको बैठकपछि संघीय संसद भवनमा पत्रकार सम्मेलन गरेर थापाले प्रधानमन्त्री प्रचण्डले के चाहेको हो त्यो भन्नुपर्ने बताएका हुन् ।

‘एमालेको त हेर्‍यौं, थाहा पायौं आज । तर, प्रधानमन्त्रीको के हो ? प्रधानमन्त्रीले के चाहनुभएको छ ? प्रधानमन्त्रीले समझदारी चाहनुभएको हो कि ? प्रधानमन्त्रीले सदनभित्र, बाहिर सबैतिर मुठभेडको स्थिति बनोस् भन्ने चाहनुभएको हो कि ? यो सन्दर्भमा प्रधानमन्त्रीको जवाफको अपेक्षा गर्दछौं’, महामन्त्री थापाले भने ।
एमाले संसदमा अप्रिय स्थिति सिर्जना होस् भनेर लागेको प्रष्ट देखिएको उनको आरोप छ ।

‘एमालेका अध्यक्ष आफैं लाग्नुभयो, आउनुभयो । हिजो पनि उहाँका वचनहरु हामीले सुन्यौं । आजको सदनका निम्ति हिजोदेखि गरेको तयारी, सदनको बैठकमा नआउनुभएको’, महामन्त्री थापाले थपे, ‘हिजो एउटा कार्यक्रम राखेर एउटा स्थिति जसरी पनि बनाउनुपर्छ भन्ने मनोविज्ञान बनाउनुभएको एमालेको त हामीले थाहा पायौं र हेर्‍यौं ।’ एमालेको व्यवहार हेरिसकेपछि आफूहरु प्रधानमन्त्रीले के चाहेको हो त्यो थाहा पाएर अगाडि बढ्न खोजेको उनको भनाइ छ ।