समाचार

रविले गरे संसदमा सम्बोधन, कांग्रेसविरुद्ध आक्रामक

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गरेका छन् । दलहरुबीचको सहमति अनुसार सभामुखले उनलाई आजको बैठकमा बोल्न समय दिएका थिए । कांग्रेस विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका उनले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरे ।

सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए ।

‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ?’ उनले भने, ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका लामिछानेले अगाडि भने, ‘यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ ।’ उनले कांग्रेस नेताहरु मुछिएका विभिन्न मुद्दालाई जोडतोडले उठाएका छन् । जसमा गगन थापादेखि विभिन्न नेतालाई लक्षित गर्दै उनले समाचारमा आएका हेडलाइनहरु सुनाएका थिए ।