फिचर

सन्दीपलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको सार्वजनिक भएको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराए । अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि खेलाडी परिर्वतनका लागि सहमति दिने जानकारी गराएको थियो । तर अमेरिकी दूतावासका अधिकारीले भिसा दिन नसकिने बताएका छन् ।

२ जेठमा लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका थिए । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको थियो । सोही दिन क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले उनको निलम्बन फुकुवा गरेको थियो ।