स्थानीय

कैलास सिरोहिया प्रक्राउ प्रकरणमा ओली भन्छन् : धेरै रुवाबासी गर्नु पर्दैन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी गर्नु नपर्ने बताएका छन्। झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा ‘ह्यु एण्ड क्राई’ गर्नुपर्ने विषय नभएको बताएका छन्।

‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि, त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई। विवादको विषय हुन सक्छ। उनलाई जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर,,’ उनले भने, ‘पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यस्तो समाचार प्रकाशित गर्‍यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो ।’

उनले मन्त्री, ‘उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा प्रजातन्त्र खतरामा नपर्ने’ भनेर प्रतिप्रश्न गर्दै एक जना मिडिया हाउसका मानिस गिरफ्तार हुँदैमा गलत व्याख्या गर्न नहुने बताए। ‘कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने, डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए, सही हो या गलत म त्यता जान चाहन्नँ। टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त ? के अब सञ्चारका हक खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन। जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छरु,’ उनले भने।

उनले के लेखेको भरमा सिरोहियालाई पक्राउ पुर्जी जारी गरेको हो? भन्दै प्रतिप्रश्न पनि गरे। ‘के लेखेको आरोप उनीमाथि लागेको छ? म त यता छु कि, के लेखेको विषयमा उनीमाथि यसरी कारबाही भयो त? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? अहिले गिरफ्तारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहिँ उचित हुँदैन,’ उनले भने।

देशमा सबै कानुन मातहत छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्ने उनको भनाइ थियो। नागरिकता सम्बन्धी अभियोगमा उनलाई प्रहरीले गिरफ्तार गरेको छ। मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधीन छ। मंगलबार पक्राउ परेका सिरोहियालाई बुधबार तीन दिनको म्याद थप गरी धनुषा प्रहरीले हिरासतमा राखेको छ।