बिचार

नाथुराम होइन रेशम र रेगल

कल्पना शाक्य
(अधिवक्ता)

सन् १९४९, १० फ्रेबुअरीको दिन दिल्लीको लालकिल्ला जेलमा नाथुराम गोड्से ऐतिहासिक फैसलाको प्रतिक्षमा थिए, दिल्लीमा एक दिन अगावै कर्फ्यू लागेको थियो । दिल्ली हाई कोर्टमा कडा सुरक्षा व्यवस्था कायम गरिएको थियो । परिचय पत्र देखाएर मात्र अदालत परिसरभित्र पस्न पाईन्थ्यो । प्रहरी र अन्य सुरक्षा बल तैनाथ थिए । सिआइडीहरु सादा बर्दीमा घुमिरहेका थिए । गान्धी हत्यामा फैसला सुनाउने न्यायाधिशको ईजलास खचाखच भरिएको थियो । केहीबेरमै नाथुराम गोड्से सहित सबै आरोपीलाई ईजलासमा उपस्थित गराइयो । महात्मा गान्धीलाई गोली हानि हत्या गरेको अभियोगमा नाथुराम गोड्सेको पूरा पाँच घण्टा लामो बयान लिइयो । बयानमा गान्धी हत्याको कारण खुलाइयो, जुन भोलीपल्टको राष्ट्रिय अखबारको पहिलो पेजमा छाँपिदै थियो । बयानको अंश यस प्रकार थिए “गान्धीजीको नीति तथा कार्यक्रमले भारतमा लाखौं हिन्दूहरुको जिन्दगी बर्बाद हुँदैथियो । कुनै पनि महात्मालाई भारतलाई टुक्रा टुक्रा पार्ने अधिकार थिएन तर गान्धीले राष्ट्रवादको नारा लगाउँदै व्यवहारमा भने अंग्रेजहरुको नीति “बाँड र राज गर” लागू गरे, पाकिस्तानलाई ७८ करोड भारु सहयोग प्रदान गर्न तत्कालीन भारत सरकारमाथि दवाव दिए जुन ७८ करोड पाकिस्तानले भारतसँगको युद्धमा खर्च गर्नेवाला थियो । जुरीलाई यदि फैसला गर्ने अधिकार दिइएको हुन्थ्यो भने गोड्सेले सफाई पाउने निश्चित थियो । भारतका तत्कालीन कानुन मन्त्री डा. अम्बेडकरको फाँसीबाट बच्न माग गर्न सक्छौ भन्ने प्रस्तावलाई नाथुराम गोड्सेले अश्विकार गरे । उनले आफुले गान्धी हत्या गरेको कुरा बिना पश्चाताप स्वीकार गरे उनको एक मात्र दलिल यो थियो उनी कट्टर हिन्दूबादी, कट्टर देश प्रेमी भारतीय हुन् । यदि कट्टर हिन्दू हुनु भारतीय हुनु भारतीयलाई माया गर्र्नु अपराध हो भने फाँसी चढ्न तयार छु । माफी माग्न नमानेपछि गोड्सेलाई फाँसीको सजाय तोकियो, फाँसी सुनाउने न्यायाधिश रोए, वकिलहरु रोए ।


माफीनामाको चलन परापूर्वकालदेखि नै अस्तित्वमा रहेको थियो । हिन्दू धर्मग्रन्थमा गल्ती र माफीका धेरै किस्साहरु छन् । ऋषीमूनीहरु कठोर श्राप दिनमा माहिर नै हुन्थे श्रापितले पश्चाताप गरेर माफी माग्न थालेपछि एउटा अवस्थामा पुगेर श्रापबाट मुक्ति मिल्ने आशिर्वाद पनि दिन्थे । करुणा, प्रेम, दया, माफीलाई जुनसुकै धर्मले पनि प्रोत्साहन नै गरेको छ ।
पहिले पहिले राजा रजौटाको जन्मदिन वा विवाहोत्सवको खुसीयालीमा कैदी बन्दीहरुलाई आम माफी दिईने चलन थियो । अहिले विश्वभरिनै कुनै राष्ट्रिय दिवसको मौका पारेर आम माफी दिईने संवैधानिक तथा कानुनी प्रकृया नै रहेको छ ।
यसअर्थमा संसारभरिनै कैदीहरुलाई आममाफीको चलन सदियौंदेखि चल्दै आईरहेको देखिन्छ तर पछिल्लो समय आममाफीको विषयलाई लिएर नेपालको राजनीतिक, सामाकजिक बृत्तमा हलचल मच्चियो । प्रसंग थियो नेपाल प्रहरीलाई ड्यूटीको समयमा लखेटी लखेटी भाला र खुकुरी खुँडा प्रहार गरेर मार्ने रेशम चौधरी र एक साधारण नेपाली नागारिकको छोरो जसले आफ्नो परिवारको जिम्मेवारी बहन गरिरहेको थियो त्यस्तो निहत्था व्यक्तिलाई बीच बजारमा लखेट्दै खूकुरी प्रहार गरेर मार्ने रिगललाई गणतन्त्रको अवसर पारेर राष्ट्रपतिद्वारा दिइएको माफी ।

नेपालको संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकायले गरेको सजायलाई कानुन बमोजिम माफी वा कम गर्न सक्नेछ ।
दफा १५९ को (१) अनुसार अदालतको फैसला बमोजिम सजाय पाएको ब्यक्तिले माफी पाउन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपति समक्ष निवेदन दिन सक्नेछ । (२) उपदफा १ बमोजिम निवेदन दिदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

उपदफा (१) बमोजिमको निवेदन आवश्यक कारवाहीको लागि राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएमा सो मन्त्रालयले कसूरको प्रकृति र कसूर गर्दाको अवस्था, कसूरदारको उमेर तथा शारीरिक अवस्था, कसूरदारलाई तोकिएको सजायको हद, कसूरदारले सो सजाय पाउनुअघि कुनै कसूर गरी कैदको सजाय पाएको वा नपाएको वा पाएको भए त्यस्तो कसूरको प्रकृति र निजले भोगेको सजाय, कसूरदार थूनामा रहेको या नरहेको कुराहरु बिचार गरि निजलाई भएको सजाय माफी गर्ने वा कम गर्ने सम्बन्धमा निणर्यको लागि नेपाल सरकार समक्ष पेश गर्न सक्नेछ तर भ्रष्टाचार, यातना, जबरजस्ति करणी, क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको, जाती हत्या, बिष्फोटक पदार्थ, अपहरण, शरीर बन्धक वा ब्यक्ति बेपत्ता, मानव बेचबिखन तथा ओसार पसार, सम्पत्ति शुद्धिकरण र तीन वर्ष भन्दा बढी कैद सजाय हुने लागू औषधको ओसार पसार वा कारोबारमा परेका कसूरदारलाई भएको सजाय माफी गर्ने, मूल्तवी गर्ने वा कम गर्ने कारवाही गर्न सकिने छैन भनि १५९ को (४) ले व्यवस्था गरेको छ ।

दफा १५९ को उपदफा (७) असुसार उपदफा (३) बमोजिम निणर्य गर्दा निवेदकलाई भएको सजाय पुरै वा आंशिक रुपमा माफी हुनु पर्ने, परिवर्तन गर्नुपर्ने वा कम गर्नुपर्ने मनासीव कारण देखेमा नेपाल सरकारले त्यस्तो आधार खुलाई आफ्नो राय सहित राष्ट्रपति समक्ष सिफारिस गर्नेछ ।

यसरी मौजूदा संविधान र कानुन हेर्दा सजाय कम, माफीको माग दावी र आम माफी सम्बन्धि व्यवस्थालाई सकारात्मक र जनभाबना अनुकुल बनाउन हरसम्भव प्रयास गरिएको देखिन्छ । “माफी” को सही सदुपयोग गर्न बनेको कानुनको आँखैअगाडि नेपाल सरकारले “माफी” को दुरुपयोग गरि दफा १५९ को (४) (घ) को “क्रुर तथा अमनवीय तरिकाले नियन्त्रणमा लिई ज्यान मारेको कसूरदारलाई सजाय माफी गर्न वा कम गर्न सकिदैन भन्ने व्यवस्थाको ठाडै बिपरीत गएर अदालतले क्रुर अपराधि ठहर गरेको व्यक्तिहरुलाई आममाफी दियो । त्यसकारण जनभावना यो आममाफीको बिरुद्धमा गयो ।

नेपालमा गणतन्त्रको सरकारले जनभावनाको कदर गरेको देखिदैन । राजनीति भारतद्वारा परिचालित भएपनि जनभावनाको कदर गर्ने संस्कार भारतीय राजनीतिबाट कहिल्यै सिकेनन् । गोड्सेलाई फाँसी नसुनाईएको भए गान्धी समर्थकको बिरोधलाई दमन गर्ने सामर्थ्य भारत सरकारसँग थिएन त्यसैले फँसीलाई कसैले टार्न सकेन अर्कोतर्फ गोड्सेको बयान छापियो भने गान्धी बिरोधीहरुले आगो बाल्न सक्थ्यो त्यसैले आम जनताको आक्रोशबाट बच्न जे जति नीति अख्तियार गर्‍यो त्यसले नाथुराम गोड्सेको भागमा परेको न्यायको बत्ति निभ्यो तर पनि भारत सरकारको जनताको भावना प्रतिको कदर भने देखियो । हुन त एक व्यक्ति प्रति भएको अन्याय सारा ब्यक्तिप्रति भएको न्यायको लागि बेइज्यति हो, यहाँ गान्धीको हत्या हुनु पनि सही थिएन तर राष्ट्रभक्तिले ओतप्रोत गोड्सेलाई फाँसी दिईनु पनि सही थिएन तर यो प्रसंगलाई जनभावना कति बलियो हुन्छ भन्ने सन्दर्भमा नेपालको गणतान्त्रिक सरकारले सिख लिन आवश्यक छ । पुरा नेपाली जनता सडकमा नओर्लेको भए माओवादीले मात्र २५० वर्ष पुरानो राजतन्त्र फ्याक्न सक्ने थिएन । राजतन्त्र लखेट्ने नेपालीले भोली गणतन्त्र लखेट्न कुनै आईतबार कुर्न पर्दैन होला त्यसैले जनभावनाको कदर गरौं । गणतन्त्रले के दियो भन्दा “बोल्न दियो” मात्र अब नभनौं किनकि जब बोलीको कुनै सुनुवाई नै हुँदैन भने त्यस्तो बोल्ने अधिकार औचित्यहिन हुन्छ । हुलको आवाज सुनेर फैसला या घोषण गर्न हुँदैन तर सिधै कानुनको शाब्दिक उल्लंघन नै गरेर पद र पैसाको दुरुपयोग गरि कानुन विपरित आममाफी भएपछि जनता निराश हुनु स्वभाविक हो । जनतामा निराशा छायो भने शासकमाथि केसम्म हुन्छ ईतिहास साक्षी छँदैछ । तसर्थ जनभावनाको कदर गर्न कानुन अनुरुप मात्र काम गरौं, गणतन्त्र दिवस २०८१ को शुभकामना ।