समाचार

तराईमा अधिक तापक्रमले जनजिवन प्रभावित, विद्यालय बन्द

काठमाडौं । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार धनगढीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन भएको छ । गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

नेपालगञ्जमा हिजो यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । आज र भोलि अझै गर्मी बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । गर्मी बढिरहँदा नेपालगञ्जमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् ।

नेपालगञ्जसहित तराई, मधेशका धेरै ठाउँमा बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । गर्मी बढेपछि तराई मधेशका धेरै पालिकाहरुले विद्यालयमा बिदा दिएका छन् । मौसम पूर्वानुमान महाशाखाले केही दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । गर्मी बढेकाले काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेलाबेला पानी र सर्वत तथा फलफूलको जुस पिउन प्रकोप विज्ञहरुको सुझाव छ ।