समाचार

काठमाडौंको तापक्रम ३४ डिग्री नाघ्यो

काठमाडौं । बिहीबार काठमाडौँको तापक्रम ३४.४ डिग्री सेल्सियस मापन भएको छ । केही दिन यता उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि बागमती प्रदेशदेखि पश्चिममा तत्काल पानी पर्ने सम्भावना छैन ।

मौसमविद्ले यस वर्ष गतवर्षको भन्दा तापक्रम बढ्ने र वर्षा पनि बढी हुने प्रक्षेपण गरेका छन् । काठमाडौँ उपत्यकामा अहिलेसम्मको सबैभन्दा बढी तापक्रम ३६.५ डिग्री सेल्सियस पुगेको रेकर्ड छ । सन् १९८९ मे ७ का दिन सो तापक्रम मापन भएको थियो ।


देशमा सबैभन्दा बढी तापक्रम धनगढीमा पुगेको छ । धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ । यस्तै नेपालगन्जको तापक्रम ४३.५ डिग्री सेल्सियस पुगेको छ । वीरेन्द्रनगरको तापक्रम ४१ डिग्री पुगेको छ ।