फिचर

निर्मल पूर्जामाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

काठमाडौं । विवादित आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंमा एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी हुन् । डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको बताएकी थिइन् । पुस्तकमा उनले निम्सको नाम नलिइ आफ्नो सहमतिविना ती व्यक्तिले चुम्बन गरेको भनेकी थिइन् ।

शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा ती व्यक्ति निम्स भएको खुलाउँदै उनले होटलको कोठाभित्र के–के भएको थियो भन्ने पनि खुलाएकी छन् । उनका अनुसार, पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएको उल्लेख छ । आफुले इन्कार गर्दा समेत पूर्जाले यौन दुर्व्यवहार गरेको उनको आरोप छ ।

न्यूयोर्क टाइम्सका अनुसार, यो आरोपमाथि निम्सले भने प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको रिपोर्टमा उल्लेख छ ।