फिचर

अमेरिकामा नेपाली टोलीलाई अपार समर्थन, उत्साहित छन् कप्तान रोहित

काठमाडौं । विश्वकप क्रिकेटका लागि अमेरिकामा रहेको नेपाली टोली नेपालीको अपार समर्थनका कारण उत्साहित देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने भन्दै ठूला टीमहरुविरुद्ध आत्मविश्वास समेत प्रस्तुत गरेका छन् । विश्वकप आइतबारबाट सुरु हुँदैछ । कप्तान रोहितले टी–२० फरम्याटको क्रिकेटमा जुनसकै टोलीले जित्ने र हराउने बराबर हैसियत राख्ने बताए ।


‘‘विश्वकप खेल्नका लागि हामी उत्साहित छौँ । विश्वकपलाई सबै नेपालीले नजिकबाट हेरिरहनु भएको छ । हामी सुखद् नतिजा निकाल्न आतुर छौँ । विश्वकपमा सहभागी २० वटै टोली बलिया छन् । टी–२० क्रिकेटमा जसले जसलाई पनि हराउन सक्छ । हामीले सबैलाई समान हैसियतको रूपमा हेरेका छौँ,’’ रोहितले भने ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहलाई ‘ग्रुप अफ डेथ’ को रूपमा पनि लिइएको छ । समूहमा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । नेपाल र नेदरल्यान्ड्सबाहेक तीन देश टेस्ट मान्यता टोली हुन् । रोहितले नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेकोले टोलीका रहेका सबै खेलाडीले आफूलाई बलियो टोलीको रूपमा उभ्याउने पनि बताए ।
नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले १० वर्षपछि विश्वकपमा फर्किएको नेपाली क्रिकेटले राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको बताए ।

विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड पियरे रङ्गशालामा जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ ।

यस विश्वकपमा सहभागी टोली मध्ये नेपाल खेलाडीको उमेरको हिसाबले युवा टोली हो । त्यसमाथि नेपालका कप्तान रोहित पौडेल सहभागी टोलीमध्ये सबैभन्दा कान्छा कप्तानको भूमिकामा छन् । २१ वर्षीय कप्तान रोहित उमेरले कुनै प्रभाव नपार्ने बताउँछन् । सहभागी २० टोलीमा नेपाली खेलाडीको औसत उमेर २३.७ वर्ष रहेको छ । यो विश्वकपमा पाका खेलाडीको रूपमा ओमान रहेको छ । ओमान औसत ३२.९ वर्षका खेलाडीको साथमा विश्वकप खेल्दैछ । यस्तै यस विश्वकपका पाका कप्तानको रूपमा भारतका रोहित शर्मा, क्यानडाका साद बिन जाफर र स्कटल्यान्डका रिची बेरिङटन छन् ।

नेदरल्यान्ड्सविरुद्ध विश्वकपको डेब्यु खेल खेल्दा नेपालका लागि अर्को फाइदा भनेको डालासस्थित ग्रान्ड पियरे मैदान हो । टेक्सासको डालासमा रहेको यस मैदानलाई नेपालले आफ्नो कीर्तिपुरस्थित त्रिवि मैदान पछिको दोस्रो घरेलु मैदानको रूपमा हेरिएको छ । कीर्तिपुरमा जस्तै पियरे मैदानमा पनि हजारौँ सङ्ख्यामा समर्थकले नेपाली टोलीलाई साथ दिनेछन् । टेक्सासमा मात्र अहिले एक लाख ५० हजार सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । २० हजार क्षमता रहेको ग्रान्ड पियरे रङ्गशालामा नेपाल र नेदरल्यान्ड्सबीचको खेल हेर्न सम्पूर्ण टिकट बिक्री भइसकेको छ । जसमा ९० प्रतिशत टिकट नेपाली मूलका दर्शक र समर्थकले बुक गरिसकेका छन् ।