समाचार

भारत निर्वाचन : सर्वेक्षणको नतिजा मोदीको पक्षमा

काठमाडौं । भारतको लोक सभा चुनावको मतगणना सुरु हुनु अगाडि मत सर्वेक्षणका नतिजा सार्वजनिक हुन थालेका छन् । अहिलेसम्म भएका एक दर्जन मत सर्वेक्षणले नरेन्द्र मोदीले प्रधानमन्त्री पदमा ह्याट्रिक गर्ने देखिएको छ । विभिन्न न्यूज एजेन्सी र च्यानलहरुले भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन हार्ने सर्वेक्षण गरेका छन् । यद्दपी सिट संख्या भने फरक छ ।

भारतका लोक सभाका ५४२ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । निर्वाचनको नतिजा ४ जुनमा सार्वजनिक हुने छ । बहुमतका लागि २७२ सिट ल्याउनुपर्छ । नतिजा सार्वजनिक हुनु अगाडि सार्वजनिक मत सर्वेक्षणको नतिजामा एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ । विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख छ ।

भारतको दैनिक भाष्करले ग्राउण्ड जिरो रिपोर्टको आधारमा २८१ देखि ३५० सिट भाजपा नेतृत्वको एनडीए गठबन्धनले पाउनसक्ने र १४५ देखि २०१ सिटसम्म कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनले पाउनसक्ने जनाएको छ । सर्वेक्षणअनुसार यस पटक एनडीएले तमिलनाडु र केरलामा खाता खोल्न सक्ने अनुमान छ । साथै कर्नाटकका सबै सिटमा कब्जा गर्न सक्ने उल्लेख छ ।