स्थानीय

गोसाईंकुण्ड गंगादशहरा मेला; सन्तान प्राप्ति हुने किम्बदन्ति

सरस्वती न्यौपाने
रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने धार्मिकस्थल गोसाईंकुण्डमा जेठ २५ गतेबाट गंगादशहरा मेला लाग्ने भएको छ । सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, “जोडी मिलोस्” भनेर भाकल गर्दा जोडी मिल्ने धार्मिक किंवदन्ति रहेको छ।

जीवनमा सके ३ पटक, नसके १ पटक भएपनि पुग्नै पर्ने ठाउँ गोसाईंकुण्ड ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ । गोसाईंकुण्ड चौंथाइ माइल फराकिलो निलो पानीको सरोवर हो । यस वरपर १ सय ८ वटा कुण्डहरू रहेका छन् । जसमध्ये पार्वतीकुण्ड पनि हो । मुख्य गोसाईंकुण्ड चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक बनावट र कुण्डहरूले नै यसलाई आकर्षक बनाइदिएको छ । यात्रामा भेटिने तामाङ संस्कृति र प्राकृतिक छटाले मन तानिन्छ । गोसाईंकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्दछ ।यस कुण्डलाई सन २००७ सेम्टेम्वरमा रामसार सूचिमा समावेश गरिएको छ ।

जेठ २५ गतेबाट १० दिनसम्म लाग्ने गंगादशहरा मेला भर्न देश विदेशबाट मानिसहरूको विशेष भिड लाग्छ । बर्सेनि दुई चोटी दशहरा मेला र जनैपुर्निमाको वेला मेला लाग्छ तर ९ वर्ष यता १२ महिना नै मानिसहरू आवतजावत गरिरहन्छन् । कोही हाइकिङका लागि, कोही तामाङ संस्कृति हेर्न कोही धार्मिक हिसाबले जोडी मिलोस् सन्तान प्राप्त होस भन्नका लागि कोही सुख शान्तिका लागि कामनाका लागि आउने गर्छन् ।

भगवान् शिवले कालकुट विष सेवन गरेर सम्पूर्ण प्राणी जगतलाई बचाउन आफुले खाएर घाँटीमा अडकिएपछि पानीको खोजीमा हिडिरहदा सारा ब्रह्माण्ड नै घुम्दा कहीँ शुद्ध र चोखो ठाउँ नभेटेपछि हिडदै जाँदा बेत्रावतीमा आइपुगेर पानी खान लाग्दा वेतको लौरो छोडिएकोले बेत्रावती भएको भन्ने गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डियम बताउँछन् । त्यसपछि शिव भगवान् उकालो लागेर गोसाईंकुण्ड पुगेर समाहित भएको हो भन्ने भनाई रहेको छ ।

गोसाईंकुण्ड नेपालको दोस्रो ठुलो पदमार्ग अन्तर्गत पर्दछ । धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थीहरू यस क्षेत्रमा अध्ययन तथा अन्वेषणका लागि पुग्ने गर्दछन् । आफूलाई बाघको डमरु भनि अङ्ग्रेजहरूलाई थरथर बनाउने नेपालका राष्ट्रिय विभूति श्री अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाईंकुण्ड मै आएर गरेका थिए । त्यसैले गोसाईंकुण्डमा अहिले राष्ट्रिय विभूति अमर सिंह थापाले बास बसेको स्थानमा उहाँको सालिक बनाइएको छ। यसै कारण स्वदेशी तथा विदेशी पर्यटकहरू धार्मिक एवम् प्राकृतिक सौन्दर्यता र प्रकृतिलाई नजिकबाट नियालेर यससँग लुकामारी खेल्न यस क्षेत्रमा पुग्दछन्।

यस क्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ । तसर्थ तामाङ समुदायको भेषभुषा, रहनसहन र संस्कृति यस क्षेत्रको अर्को आकर्षणको केन्द्र हो। तामाङ संस्कृति अनुसार गोसाईंकुण्ड मेलामा विभिन्न लामा, झाँक्री नाच तथा तामाङ सेलो नृत्य समेत देख्न सकिन्छ। यसै कारण यस क्षेत्रको चर्चा परिचर्चा दिन प्रतिदिन बढ्दो क्रममा छ।

कसरी पुग्ने ?

काठमाडौँको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानव शास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ । गोसाईंकुण्ड जाने विद्यार्थी, शिक्षक र अन्वेषकहरू सुन्दरीजल ९१८९५ मिटरबाट यात्रा आरम्भ गर्छन् । हुन त धेरैजसो यात्रीहरू त्रिशूलीबाट जान्छन् तर सुन्दरीजलको बाटो छोटो मानिन्छ। सुन्दरीजल कट्नासाथ कतै पहेँलो त कतै रातो र कमेरे माटोको चिप्लो बाटो पार गर्नुपर्छ, अनि आउँछ, तामाङ बस्ति, मूल खर्क। गुराँस र दियार सल्लाका वनमा वैशाख(जेठमा गुराँससँग प्रीति लगाउँदै उक्लिएपछि आइपुग्छ, बोड्लाङ भन्ज्याङ। यो भन्ज्याङ काटेर अझै उकालो लागेपछि पहिलो बास चिसापानी पुगिन्छ।

पूर्वबाट आउने जाने मुख्य मार्ग पाटी भन्ज्याङ । यहाँबाट ठाडै उकालो हिँडेपछि साँझ बास बस्न कुटुम्साङ पुगिन्छ। कुटुम्साङबाट हिँडेको दिन लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गरिन्छ र साँझ थाडेपाटी पुगिन्छ।

गोसाईंकुण्ड क्षेत्रको पहिलो कुण्ड, सूर्यकुण्ड यहाँबाट केही तल झरेपछि आइपुग्छ, गोसाईंकुण्ड । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ। गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । गोसाईंकुण्ड त्रिशूली नदीको उद्गम हो। विषले निस्लोट भएका शिवले जमिनमा गाडेको त्रिशूलबाट तीन वटा जलधारा निस्केको विश्वास गरिन्छ, जुन पानीको नदीलाई त्रिशूली भनिन्छ। गोसाइँकुण्डमा सबैभन्दा ठुलो मेला गङ्गा दशहरा र जनपूर्णिमामा मेला लाग्छ।

गोसाईंकुण्ड स्नान गरेर तल रुझ्दै गर्दा भैरव नाग कुण्ड देखिन्छ। वैशाख जेठमा जाँदा चोल्याङ र तेन्जे डाँडाको काखैकाख हिँड्दा सेतो गुराँसका फूलहरू देखिन्छ। काठमाडौँबाट माछापोखरी बालाजु कंलकि,गल्छी देविघाट, वट्टार, त्रिशूली, बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै गोसाईंकुण्ड पुगिन्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको मज्जा पनि लिन सकिन्छ। धुन्चेबाट उत्तरतिर लागे तातोपानी पुगिन्छ। कार्तिकमा मेला लाग्ने यहाँको तातोपानीमा नुहाए बाथ र कुष्ठरोग निको हुने विश्वास गरिन्छ। तर यहाँसम्म पुग्नका लागि थप तीन दिन लाग्छ। चिलिमे जलविद्युत् आयोजना बाटैमा पर्छ। धुन्चेबाट गाडी र बेत्रावतीतिरको पैदल यात्रा दुई विकल्प छन् ।

तस्विरहरु : खोजराज गोले