समाचार

सिक्किममा क्रान्तिकारी मोर्चाको जादु, ३२ सिटमा ३१ जित

काठमाडौं । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा जादु देखाएको छ । अप्रिल १९ मा सम्पन्न विधानसभा चुनावको नतिजा आइतबार सार्वजनिक भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार एसकेएमले कुल ३२ सिटमध्ये ३१ सिटमा जित निकालेको छ । पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले १ सिटमा मात्र जित निकाल्न सक्यो ।

पूर्वमुख्यमन्त्री चाम्लिङ आफैं दुवै क्षेत्रबाट पराजित भए । पोक्लोक(कामराङ विधानसभा क्षेत्रमा पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का भोजराज राईसँग पराजित भए । राईसँग चाम्लिङ ३ हजार ६३ मतको अन्तरले पराजित भए ।


पूर्वमुख्यमन्त्री चाम्लिङ नाम्चेबुङ क्षेत्रबाट पनि पराजित भएका छन् । उनलाई यस क्षेत्रमा एसकेएमका राजु बस्नेतले हराए । वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) भने रेनोक र सोरेङ(चाकुङ दुवै क्षेत्रमा विजयी भए । सोरेङ–चाकुङमा तामाङले एसडीएफ उम्मेदवार डा. एडी सुब्बालाई ७ हजार ३ सय ९६ मतको अन्तरले हराए । रेनोक क्षेत्रमा मुख्यमन्त्री तामाङले पूर्वमन्त्रीसमेत रहेका एसडीएफ उम्मेदवार सोमनाथ पौड्याललाई ७ हजारभन्दा बढी मतले हराए ।