फिचर

बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले कति पाउँछ ?

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विज्ञप्ति जारी गर्दै पुरस्कार राशीको घोषणा गरेको हो । उपविजेतालाई १२ लाख २८ हजार अमेरिकी डलर प्रदान गरिने आइसिसीले जनाएको छ । सेमिफाइनलमा पुगेका बाँकी दुई टोलीले समान सात लाख ८७ हजार अमेरिकी डलर पाउनेछन् ।

क्वार्टरफाइनलमा पुगेका र सेमिफाइनलमा पराजित भएका चार टोलील समान तीन लाख ८२ हजार डलर पाउनेछन् । यस्तै सहभागी सबै टोलीले दुई लाख २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । प्रतियोगिताको पुरस्कार वितरण २९ जूनमा बार्बाडोसको किङ्स्टन ओभलमा गरिनेछ । विश्वकपमा समूह चरणदेखि फाइनलसम्म ५५ खेल हुनेछन् ।

नेपाल विश्वकपको समूह ‘डी’ मा छ । नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड पियरे रङ्गशालामा जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ । २० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।